काठमाडौं । अमेरिकामा निर्यात हुने सामसङको ग्यालेक्सी जेड फ्लिप र जेड फोल्ड सिक्समा सामसङ मेसेजेज एप प्रि-इन्स्टल भएर नआउने भएका छन् । नाइनटुफाइभगुगलका अनुसार ती फोनहरूमा गुगल मेसेजेज एप डिफल्ट मेसेजिङ एपको रूपमा रहेर आउनेछ ।
यस्तोमा सामसङ एप रुचाउने प्रयोगकर्ताले ग्यालेक्सी स्टोरबाट डाउनलोड गर्नुपर्नेछ । "फ्लिप सिक्स, फोल्ड सिक्स र नयाँ मोडेलहरूबाट सुरु भएर सामसङ मेसेज एप पूर्ववत रूपमा लोड भएर आउने छैन," सामसङ मेसेजको बारेमा एन्ड्रोइड लिकर म्याक्स विनबिचले लेखेका छन् । "त्यसको साटो सञ्चारलाई सुरक्षित र रमाइलो बनाउँदै तपाईंको भावना व्यक्त गर्न गुगल मेसेजेज उपलब्ध हुनेछ ।"
गुगल मेसेज सन् २०२२ देखि सामसङ फोनहरूमा डिफल्ट रूपमा रही आएको छ, जुन आरसीएस मेसेजिङको लागि तयार पारिएको हो । नियमित रूपमा एन्ड्रोइडका लिक र हल्ला बारे लेख्दै आएका मिशाल रहमानका अनुसार यो परिवर्तन अमेरिकामा बिक्री हुने फोनमा मात्रै लागु हुने हो भन्ने विषयमा सामसङले स्पष्ट रूपमा केही पनि बताएको छैन ।
क्यानडा र युरोपमा किनिएका उक्त भर्सनका फोल्डेबल फोनमा सो एप इन्स्टल भएरै आउनेछ ।