काठमाडौं । गत वर्ष स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले यो शैक्षिक सत्रदेखि स्नातक तहमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम अध्यापन गराउँदै छ । त्यही अनुरुप विश्वविद्यालयले 'बी. टेक. ईन सीएस एन्ड एआई' र 'बी टेक ईन आईटी' विषयमा भर्ना खुला गरिसकेको छ ।
नेपाली आईटी शिक्षाको क्षेत्रमा यी दुवै कोर्ष नयाँ हुन् । विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले सञ्चालन गर्ने यी कोर्ष हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि विकल्प हुन सक्छन् ।
यसअघि हामीले बी टेक ईन आईटी कोर्षबारे विस्तृतमा जानकारी दिइसकेका छौं । आज विश्वविद्यालयको अर्को कोर्ष बी टेक ईन सीएस एन्ड एआईबारे जानकारी दिदै छौं:
कस्तो छ कोर्ष ?
पूरा रूप ब्याचलर ईन टेक्नोलोजी ईन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (बी टेक ईन सीएस एन्ड एआई) रहेको यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो । कोर्षमा एआई तथा कम्प्युटर साइन्सका विषय राखिएका छन् ।
विद्यार्थीलाई कम्प्युटर विज्ञान साथसाथै एआईबारे ज्ञान दिन यो कोर्ष तयार पारिएको विश्वविद्यालयको भनाइ छ । त्यस्तै यी क्षेत्रसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्नु कोर्षको उद्देश्य छ । त्यही उद्देश्य पूरा गर्न परम्परागत कम्प्युटर साइन्सका विषयसँग एआईका स्पेसलाइज्ड (विशिष्टिकृत) विषय मिसाएर कोर्ष तयार पारिएको छ ।
पाठ्यक्रम
कोर्षमा कम्प्युटर विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स, म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स, सफ्टवेयर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरूको पढाइ हुन्छ ।
चार वर्षको अवधिमा विद्यार्थीले कम्प्युटर साइन्सका सिद्धान्त, प्रोग्रामिङ ल्याङ्ग्वेज, एल्गोरिदम, डेटा स्ट्रकचर, एआईका विषयबारे ज्ञान प्राप्त गर्छन् । त्यस्तै मसिन लर्निङ, न्यूरल नेटवर्क, न्याचुरल नेटवर्क प्रोसेसिङ, रोबोटिक्स जस्ता विषय पनि विद्यार्थीले अध्ययन गर्छन् ।
कोर्षको पाँचौं सेमेस्टरबाट विद्यार्थीले अनिवार्य रुपमा प्रोजेक्ट वर्क (परियोजना कार्य) गर्नु पर्ने हुन्छ । छैटौं सेमेस्टरबाट इलेक्टिभ (वैकल्पिक) विषय पढ्नु पर्छ । अन्तिम सेमेस्टरमा भने विद्यार्थी अनिवार्य इन्टर्नशिप गर्नु पर्ने हुन्छ ।
हेर्नुहोस् पाठ्यक्रम
|
सेमेस्टर |
विषय |
|
पहिलो |
फिजिक्स फर कम्प्युटिङ इन्ट्रोडक्सन टु कम्प्युटेस्नल थिङ्किङ एन्ड सी प्रोग्रामिङ म्याथम्याटिक्स १ कम्युनिकेसन स्किल सोसाइटी, साइबर ल एन्ड इथिक्स |
|
दोस्रो |
म्याथम्याटिक्स २ ओओपी इन जाभा स्टाटिस्टिक्स डिजिटल लजिक वेब टेक्नोलोजी |
|
तेस्रो |
माइक्रोप्रोसेसर एन्ड कम्प्युटर आर्किटेक्चर डेटाबेस म्यानेजमेन्ट सिस्टम डेटा स्ट्रक्चर एन्ड एल्गोरिदम डेटा कम्प्युनिकेसन एन्ड नेटवर्क डिस्क्रिट म्याथम्याटिक्स प्रोग्रामिङ युजिङ पाइथन |
|
चौंथाे |
थ्यौरी अफ कम्प्युटेसन न्युमेरिकल मेथोड कम्प्युटर ग्राफिक्स एन्ड मल्टिमिडिया अप्लाइड अपरेटिङ सिस्टम डिजाइन एन्ड एनालिसिस अफ एल्गोरिदम अप्टिमाइजेसन थ्यौरी |
|
पाँचौं |
यूआई/यूएक्स कम्प्युटर अर्गनाइजेसन एन्ड आर्किटेक्चर आर्टिफिसियल इन्टेलिजेन्स डेटा साइन्स रिसर्च मेथोडोलोजी प्रोजेक्ट १ |
|
छैंटाैं |
सफ्टवेयर इन्जिनियरिङ क्लाउड कम्प्युटिङ मसिन लर्निङ इलेक्टिभ १ प्रोजेक्ट २ |
|
सातौं |
सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट नेटवर्क सेक्युरिटी एन्ड क्रिप्टोग्राफी गेम थ्यौरी ब्लकचेन टेक्नोलोजी इलेक्टिभ २ |
|
आठौं |
आईटी इन्टरप्रनरशीप इलेक्टिभ ३ इन्टर्नशिप/क्यापस्टोन प्रोजेक्ट |
स्रोत: लुम्बिनी प्राविधिक विश्वविद्यालय
कोर्ष पढेपछिको भविष्य
कम्प्युटर साइन्स र एआईका विषयहरू पढाइ हुने भएकाले कोर्षको दायरा फराकिलो छ । यसकारण विद्यार्थीहरूले विभिन्न सफ्टवेयर कम्पनी, एआई कम्पनी, आईटी उद्योगमा काम गर्न सक्छन् । कोर्ष अध्ययनपछि विद्यार्थीले निम्न क्षेत्रमा आफ्नो भविष्य बनाउन सक्छन्:
-एआई इन्जिनियर/डेभलपर
-मसिन लर्निङ इन्जिनियर
-डेटा साइन्टिस्ट
-कम्प्युटर भिजन इन्जिनियर
-न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङ इन्जिनियर
-रोबोटिक्स इन्जिनियर
-रिसर्च साइन्टिस्ट इन एआई
-एआई कन्सल्ट्यान्ट
भर्ना योग्यता र शुल्क
कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ (पीसीएम) विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएका विद्यार्थी यो कोर्षमा भर्ना हुन योग्य हुन्छन् । त्यस्तै ए लेभल पढेकाहरूले भने न्यूनतम ‘डी’ ग्रेड ल्याएको हुनु पर्छ ।
विश्वविद्यालयले प्रतिवर्ष ४८ विद्यार्थीको भर्ना लिने गर्छ । जसमा नियमित (छात्रवृत्ति) शुल्क एक लाख ३० हजार र पूर्ण शुल्क पढ्न पाँच लाख १८ हजार रुपैयाँ लाग्छ ।
लुम्बिनी प्रदेश सरकारको स्वामित्व रहने गरी २०७९ मा स्थापना भएको यो विश्वविद्यालयले बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ मा अवस्थित छ । विशेषगरी लुम्बिनी प्रदेशका विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी कोर्ष अध्यापन गराउन यो विश्वविद्यालय खाेलिएको छ ।
त्यही अनुरुप यही शैक्षिक सत्रदेखि विश्वविद्यालयले आफ्नो कार्यक्रम सञ्चालन गर्न बी टेक ईन सीएस एन्ड एआई, बी टेक ईन आईटी र आईटी इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने याेजना बनाएको छ । जसमध्ये दुई विषयमा भर्ना खुला भइसकेको छ । भर्नाबारे तथा विश्वविद्यालयले थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज १७, २०८० १२:२१
