काठमाडौँ । लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्राविधिक विश्वविद्यालयमा एआई ह्याकाथन सम्पन्न गरिएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, नेपालगन्जमा यही साउन १६ र १७ गते आयोजित यस ह्याकाथन कार्यक्रम सिङ्गापुरमा मुख्यालय रहेको एआई कम्पनी म्यानस एआईसँगको प्रत्यक्ष सहकार्यमा ‘थिङ्क, बिल्ड, एन्ड स्केल’ नाराका साथ आयोजना गरिएको थियो ।
कार्यक्रमको पहिलो दिन ४४ जना विद्यार्थी तथा एआईमा चासो राख्ने व्यक्तिहरू सहभागी भएका थिए । उनीहरूलाई च्याटजीपीटी, जेमिनाई, नोटबुकएलएम लगायतका एआई टुलहरू कसरी प्रयोग गर्ने भन्ने व्यवहारिक तालिम दिइएको आयोजक एनोभेटर्स जनाएको छ । सहभागीहरूले किताबहरूबाट पोडकास्ट बनाउने, थेसिस सारांश निकाल्ने, जागिरको अन्तर्वार्ता तयारी गर्ने, परीक्षा तयारीमा एआईसँग प्रश्नोत्तर गर्ने जस्ता अभ्यासहरू पनि गरेका थिए ।
दोस्रो दिनको ह्याकाथनमा २५ जना सहभागीहरूले म्यानस एआई प्रयोग गरी एक घण्टामा नै १८ ओटा एप तयार गरिएको थियो । आयोजकका अनुसार पुराना पाठ्यपुस्तक किनबेचको डिजिटल प्लेटफर्म 'पुरानो पुस्तक' ले ह्याकाथनमा पहिलो स्थान हासिल गरेको थियो ।
एनोभेटर्सले निकट भविष्यमा अन्य विश्वविद्यालयहरूसँग पनि सहकार्य गरी यस्ता एआई कार्यशाला तथा ह्याकाथनहरू सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएको छ ।
वि.सं. २०७९ मा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा हाल करिब २०० विद्यार्थीले आईटी र इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । ह्याकाथनका विजेताहरूलाई केही दिनभित्रै म्यानस एआईको सिंगापुर मुख्यालयबाट प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाइ छ ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ ९:३७
