close

इजरायलबाट नेपाल फर्किन ३५० जनाले भरे अनलाइन फाराम, फिर्ता ल्याउने प्रक्रिया अघि बढ्यो

टेकपाना टेकपाना

असोज २४, २०८० १३:५९

इजरायलबाट नेपाल फर्किन ३५० जनाले भरे अनलाइन फाराम, फिर्ता ल्याउने प्रक्रिया अघि बढ्यो

 

काठमाडौं । इजरायलबाट नेपाल फर्किन ३५० भन्दा बढीले अनलाइन फाराम भरेका छन् । इजरायलस्थित नेपाली दूतावासले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै अनलाइन फारम भरेका नेपालीबारे जानकारी दिएको हो ।

“नेपाल फर्कन इच्छुक नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ,” विज्ञप्तिमा लेखिएको छ, “उहाँहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया सुरु गरिएको छ ।”

सोमवार दूतावासले नेपाल फर्किन चाहनेका लागि अनलाइन रजिस्ट्रेसन लिङ्क उपलब्ध गराएको थियो । दूतावासका अनुसार इजरायल गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्रको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका चार जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ ।

त्यस्तै सम्पर्कविहीन एक नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा तीव्र पारिएको दूतावासले उल्लेख गरेको छ । दूतावासले इजरायलवासी नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सचेत गराएको छ । 

यसैबीच नेपालीलाई फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे इजरायल उड्ने भएकाे छ । परराष्ट्र मन्त्रालयका अनुसार दुबई ट्रान्जिट हुँदै उक्त जहाज इजरायल पुग्नेछ ।


 

पछिल्लो अध्यावधिक: असोज २४, २०८० १४:२५