काठमाडौं । मिस्टर बिस्ट नामले परिचित युट्युबर जिम्मी डोनाल्डसन २० करोड सब्स्क्राइबर हुने संसारकै पहिलो व्यक्ति बनेका छन् । सन् २०१२ देखि युट्युबमा सक्रिय बिस्टले आइतवार उक्त सब्स्क्राइबरको आँकडा पार गरेका हुन् ।
२० करोड (२०० मिलियन) सब्स्क्राइबर पूरा भएको अवसरमा खुसियाली व्यक्त गर्दै बिस्टले आइतवार एक्समा एउटा स्क्रिनशट सहितको पोस्ट राखेका छन् । जसमा कसैले टाइम ट्राभल (समय यात्रा) गरी १३ वर्षअघि पुगेर आफूलाई सो स्क्रिनशट देखाए कुनै समय वास्तविकता हुनेछ भन्ने विश्वास गर्ने उल्लेख गरेका छन् ।
१३ वर्षअघि त्यही समय थियो, जतिबेला मिस्टर बिस्टले युट्युब च्यानल सुरुवात गरेका थिए र त्यसैबाट कुनै दिन आफू सफल हुने सङ्कल्प लिएका थिए । सोही पोस्टमा बिस्टले यो सुरुवात मात्र भएको र सफलताका लागि अझै कैयौं दशक बाँकी रहेको आशय व्यक्त गरेका छन् ।
युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर हुने संस्थागत च्यानलमा भारतीय म्युजिक कम्पनी टी-सिरिज पहिलो स्थानमा छ । उक्त च्यानलमा हाल २५ करोड १० लाख बढी सब्स्क्राइबर रहेका छन् ।
समग्रमा हेर्ने हो भने मिस्टर बिस्ट सबैभन्दा बढी सब्स्क्राइबर हुने मध्ये दोस्रो स्थानमा छन् । व्यक्तिगत च्यानलको हकमा भने उनी उक्त आँकडा पार गर्ने पहिलो व्यक्ति हुन् ।
मार्च २०१९ मा सबैभन्दा पहिले १० करोड सब्स्क्राइबरको आँकडा पहिले कसले पार गर्ने भन्ने विषयमा प्युडिपाई र टी-सिरिजबीच चर्को प्रतिस्पर्धा चलेको थियो । अन्ततः टी-सिरिज नै सबैभन्दा पहिले १० करोड सब्स्क्राइबरको आँकडा पार गर्ने च्यानल बनेको थियो ।
त्यतिबेला मिस्टर बिस्टले प्युडिपाईलाई समर्थन गरेका थिए । यता मिस्टर बिस्ट आफ्ना भिडिओमा आकर्षक भ्युज ल्याउनमा माहिर भए पनि सब्स्क्राइबरको सन्दर्भमा उनी उत्कृष्ट ५० औं च्यानलभित्र पर्ने गर्थे ।
अहिले भने प्युडिपाईभन्दा मिस्टर बिस्टको सब्स्क्राइबर झन्डै नौ करोड (९० मिलियन) ले बढी छ ।
त्यस्तै बिस्टले आफ्नो च्यानलबाट हालै सार्वजनिक गरेको ‘डलर वन भर्सेस डलर हन्ड्रेड मिलियन हाउस’ शीर्षकको भिडिओले २४ घण्टा नबित्दै छ करोड भ्युजको आँकडा पार गरेको छ । त्यसलाई बिस्टले २४ घण्टाभित्र सबैभन्दा बढी भ्युज पाउने नन-म्युजिक भिडिओ भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा दुई करोड ४३ लाख, फेसबुकमा एक करोड ५० लाख, थ्रेड्समा ५७ लाख र इन्स्टाग्राममा चार करोड २१ लाखले उनलाई पच्छ्याइरहेका छन् ।