close

‘ईसेवाको कर्मचारी हुँ’ भन्दै ओटीपी कोड मागेर १५ लाख रकम चोरी, पाँच जना पक्राउ

टेकपाना टेकपाना

कात्तिक १२, २०८० १९:२३

‘ईसेवाको कर्मचारी हुँ’ भन्दै ओटीपी कोड मागेर १५ लाख रकम चोरी, पाँच जना पक्राउ

काठमाडौं । ईसेवाको कर्मचारी हुँ भन्दै विभिन्न व्यक्तिहरूबाट ओटीपी (वन टाइम पासवर्ड) मागेर रकम चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।

केवाईसी फर्म अपडेट गर्ने लगायत अन्य बहानामा ओटीपी मागेर रकम चोरी गरेकाे भन्दै प्रहरीले रौतहट गौर नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका वडा नं ६ बस्ने १९ वर्षीय दिपेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटसँगकाे समन्वयमा उनीहरूलाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका पाँचै जनाले विभिन्न मोबाइल नम्बरबाट पीडितलाई फोन सम्पर्क गर्थे । अनि, म ईसेवाको आधिकारिक कर्मचारी हुँ भनेर प्रयोगकर्तालाई विश्वस्त बनाउँथे ।

त्यसपछि तपाईंको ईसेवा आईडी बैंक खातासँग लिङ्कअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने बनाउने र ५० प्रतिशत क्याश रकम उपलब्ध गराउने आश्वासन दिन्थे । त्यसपछि प्रयोगकर्ताको अकाउन्टमा आएको ओटीपी कोड माग्थे, अनि आफ्नो डिभाइसमा लगइन गर्थे । त्यसपछि प्रयोगकर्ताको वालेट तथा लिङ्क भएको बैंक अकाउन्टबाट रकम आफ्नोमा ट्रान्सफर गर्थे ।

यसरी विभिन्न १८ जना व्यक्तिबाट १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी भएपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा राैतहटका विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनामाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि  जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८० १९:३४