close

वर्ल्डलिङ्कले पायो एसिया प्रशान्त क्षेत्रको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० १३:५७

वर्ल्डलिङ्कले पायो एसिया प्रशान्त क्षेत्रको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

काठमाडौं  । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले मङ्गलवार दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई  उक्त अवार्ड प्रदान गरेको हो । 

एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए । कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्‍याउन महत्त्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको हो ।

 

 

एसोसिओमा नेपालसहित न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घ‍‍‍‍ संस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरूलाई प्रदान गरिंदै आएको छ ।

वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड पाएको थियो । 

सन् १९९५ तिर नेपालमा भर्खर भर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वर्ल्डलिङ्क बजारमा आएको थियो । शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुलको रूपमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट वञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गरेको छ । 

देशका आठ लखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिङ्कको सेवा देशका हिमाल-पहाडदेखि  तराईसम्म फैलिएको छ । नेपालको इन्टरनेट सेवामा मेरुदण्डको रूपमा स्थापित वर्ल्डलिङ्कले डिजिटल रूपान्तरणमा आफूलाई अग्र स्थानमा उभ्याउन समेत सफल भएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत २०, २०८० १६:५९