close

सोसल मिडियाले भिलेनलाई हिरो, हिरोलाई भिलेन बनायोः प्रधानमन्त्री प्रचण्ड

टेकपाना टेकपाना

मंसिर ११, २०८० १७:२९

सोसल मिडियाले भिलेनलाई हिरो, हिरोलाई भिलेन बनायोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सामाजिक सञ्जालका माध्यमले भिलेनलाई हिरो बनाएको टिप्पणी गरेका छन् । सोमवार पार्टीको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारका लागि प्रविधि निकै महत्त्वपूर्ण हुने भन्दै सामाजिक सञ्जालले भिलेनलाई हिरो बनाएको टिप्पणी गरेका हुन् । 

“अहिले यो प्रविधिको प्रयोगबाट हुने के गरेको छ, यो कुरा मलाई थाहा छैन । यो क्षेत्रमा काम गर्ने साथीले बढी बुझ्नु भयो होला,” उनले भने, “एउटा भिलेनलाई हिरो बनाउन पनि सकिन्छ । र, एउटा हिरोलाई भिलेन बनाउन पनि सकिन्छ ।” 

उनले सामाजिक सञ्जालको प्रयोग गरेर हिरोलाई हिरो नै बनाउन र भिलेनलाई भिलेन नै बनाउन सकिने समेत उल्लेख गरे । उनले सामाजिक सञ्जाल राजनीतिज्ञ, समाजका लागि राम्रो काम गर्ने व्यक्ति, विद्वान् आदिका बारेमा नकारात्मक भ्रम छर्न प्रयोग भएको सुनाए । त्यस्तै प्रविधिको प्रयोग गरेर प्रचार गर्न पार्टी पछाडि परेको भन्दै प्रचण्डले पार्टी पङ्ती प्रति असन्तुष्टि समे व्यक्त गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल, प्रविधि र डिजिटलाइजेसनको प्रयोगबाट कामको गति तीव्र भएकाले त्यसमा परम्परागत तरिकाले काम गर्दा प्रतिस्पर्धा गर्न सक्ने स्थिति नभएको सुनाए । 

“सोसल मिडियामा या आईटीको प्रयोगमा पैसा खर्च गर्न भनेपछि हामीलाई दाँतबाट पसिना आएजस्तो हुन्छ,” उनले भने, “यसले आजको युगको आवश्यकतालाई सदुपयोग गर्नेतिर हाम्रो ध्यान अझै पनि गहिरो गरी गएको छैन भन्ने कुरालाई देखाउँछ ।” 

सकारात्मक वा नकारात्मक भावनाले सामाजिक सञ्जालको प्रयोग गरेकाहरू सफलतातिर र प्रयोग नगरेकाहरू असफलतातिर गएको प्रधानमन्त्रीको बुझाई छ । 

वेबसाइटसँगै प्रचण्डले पार्टीको एक्स (ट्वीटर), इन्स्टाग्राम र युट्युब च्यानलको समेत उद्घाटन गरेका छन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १७:२९