close

कमेडी भिडिओमा नेवार समुदायलाई होच्याएको मुद्दामा अपूर्वलाई १० हजार जरिवाना

टेकपाना टेकपाना

मंसिर १२, २०८० १६:३७

कमेडी भिडिओमा नेवार समुदायलाई होच्याएको मुद्दामा अपूर्वलाई १० हजार जरिवाना

 

काठमाडौं । कमेडी भिडिओको नाममा नेवारी लबजलाई होच्याएको भन्दै मुद्दा खेपेका अपूर्व क्षितिज सिंहलाई काठमाडौं जिल्ला अदालतले १० हजार जरिवाना तिराएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सोमवार एक भिडिओ राख्दै सिंहले अदालतले आफूलाई मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम दोषी करार गरेर १० हजार जरिवाना तिर्न आदेश दिएको जानकारी दिएका हुन् । 

“योभन्दा पहिले कहिल्यै यस्तो मुद्दा थिएन, अब नजिर बस्यो,” उनले भनेका छन्, “यसले गर्दा ‘फ्रिडम अफ स्पिच’ (वाक स्वतन्त्रता)मा एकदमै गाह्रो हुने भयो । कसैले कुनै धर्म संस्कृतिमा पनि जिस्किन, केही भन्न पाइँदैन । त्यसो गर्दा मुद्दा लाग्ने भयो ।”

सामान्य तरिकाले रमाइलोका लागि कसैको जात, धर्म र वर्णको बारेमा मजाक गर्दा पनि मुद्दा लाग्ने सम्भावना भएको भन्दै उनले विशेषगरी लेखक, कलाकार, गायक र कन्टेन्ट क्रियटरले कलाको रूपमा यी कुराहरू ल्याउँदा कसैको चित्त दुख्यो भने उनीहरूमाथि पनि मुद्दा लाग्नसक्ने उल्लेख गरेका छन् । 

गत वर्ष भदौको पहिलो सातामा उनले ‘कमेडी क्याफे’ नामक युट्युब च्यानलमा अपलोड गरेको ‘नेवारको परम्परा’ शीर्षकको भिडिओबारे सामाजिक सञ्जालमा चर्को विवाद भएको थियो । भिडिओ विवादित बनेपछि उनीमाथि केही समूहले उजुरी दिए र उनी ११ भदौ २०७९ मा पक्राउ परेका थिए । हिरासतमै रहेको बेला उनलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि २३ भदौ २०७९ मा तारिखमा छुटेका थिए । 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १६:३७