close

इन्टरपोलको भिडिओ प्रतिस्पर्धामा नेपाल सर्वोत्कृष्ट (यस्तो छ भिडिओ)

टेकपाना टेकपाना

मंसिर १४, २०८० १२:४६

इन्टरपोलको भिडिओ प्रतिस्पर्धामा नेपाल सर्वोत्कृष्ट (यस्तो छ भिडिओ)

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडिओ कन्टेस्ट फर योङ पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।

मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । 

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षकद्धय नारायण थापा र उमेश गुरुङ श्रेष्ठले तयार पारेकाे ‘लेट्स सेभ द प्लानेट -इन्टरपोल १००’ विषयक सचेतनामूलक शर्ट भिडिओ पहिलाे भएको हाे । 

भिडिओमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न संयुक्त राष्ट्रसंघको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको छ ।

इन्टरपोलका अध्यक्ष मेजर जनरल डा. अहमद नासर अल-राइसीले नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र हस्तान्तरण गरे ।

इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा “How do you envisage INTERPOL connecting and empowering global law enforcement for a safer world in 2030” विषयमा आधारित रही उक्त भिडिओ प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको थियो । 

उक्त महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८० १३:१८