close

नेपालमा दर्ता हुन टिकटकले पठायो सरकारलाई पत्र

टेकपाना टेकपाना

मंसिर २०, २०८० १२:५५

नेपालमा दर्ता हुन टिकटकले पठायो सरकारलाई पत्र

काठमाडौं । नेपालमा दर्ताको हुने आशयका साथ टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ईमेल पठाएको छ । सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो । 

“सामाजिक सञ्जाल नियमन निर्देशिका आउनु राम्रो पक्ष हो भनेर टिकटकले प्रशंसा गर्दै ईमेल पठाएको छ,” टेकपानासँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, “ईमेलमा दर्ताको सम्बन्धमा दुई/तीन ओटा बुँदामा प्रश्न उठाएको छ ।”

उनले अगाडि भने, “ईमेल हेर्दा उनीहरूको आशय नेपालमा दर्ता हुने चाहेको भन्ने देखिन्छ ।”

अहिले टिकटकमाथि प्रतिबन्धको विषय अदालतमा विचाराधीन रहेकाले सरकारले जवाफ नफर्काउने सुवेदीले सुनाए । अन्य प्लेटफर्मलाई सूचीकरण गर्नेबारे छलफल गर्ने भए पनि अदालतबाट टिकटकका सन्दर्भमा अन्तिम निर्णय नआएसम्म सो प्लेटफर्मसँग आधिकारिक कुरा नहुने उनले बताए । 

२७ कात्तिकमा सरकारले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ ओटा रिट दर्ता भएका छन् ।

ती रिटउपर मंगलबार पूर्ण सुनुवाइको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १३:१