close

ग्लोबल आईएमईको क्रेडिट कार्डको रकम मोबाइल बैंकिङबाट क्यूआर भुक्तानीमा खर्च गर्न सकिने

टेकपाना टेकपाना

पुस २, २०८० १९:३८

ग्लोबल आईएमईको क्रेडिट कार्डको रकम मोबाइल बैंकिङबाट क्यूआर भुक्तानीमा खर्च गर्न सकिने

काठमाडौं । अब ग्लोबल आईएमई बैंकका ग्राहकले क्रेडिट कार्डमा रहेको रकमबाट समेत क्यूआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा बैंकले 'भिजा स्क्यान टु पे' प्रणाली सुरु गरेको हो । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवाको सुरुवात गरेका हुन् ।

यस प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्ड वाहक ग्राहकले अब भौतिक कार्ड बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् । अर्थात् अब क्रेडिट कार्डमा भएको रकम सो बैंकको मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी खर्च गर्न सकिनेछ ।

भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । यसअघि प्रयोगकर्ताले क्रेडिट कार्डको रकम फिनपोस मेसिन (स्वाइप मेसिन) मार्फत मात्र तिर्न सक्ने व्यवस्था रहेको थियो ।

यस्तोमा कार्ड छोडेको अवस्था वा फिनपोस मसिन नभएको अवस्थामा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न असहज थियो । यो अवस्थालाई अन्त्य गर्दै बैंकले 'भिजा स्क्यान टु पे' प्रणाली सुरु गरेको हो ।

विशेषगरी अधिकांश ठाउँमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सुविधा उपलब्ध भइसकेकाले क्रेडिट कार्डको रकम पनि क्यूआरबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यसअघि क्याशलेस सिस्टमलाई प्रोत्साहन गरिएको थियो भने अब कार्डलेस प्रणालीलाई प्रोत्साहन गरेर कार्ड छपाइमा लाग्ने रकम जोगाउन सकिने कम्पनीको विश्वास छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोसेढुङ्गो साबित हुने बताए । उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार नयाँनयाँ प्रविधिको विकास गरेकोमा बैंक लगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँ प्रविधिको विकास र विस्तारमा सधैँ अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए । स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको उल्लेख गरे ।

भिजाका नेपाल, बङ्गलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य वासुले नयाँ प्रविधिको अनुसरण गर्न नेपाल अगाडि रहेको सुनाए ।

 

पछिल्लो अध्यावधिक: पुस २, २०८० १९:३८