close

टेलिकममा जागिर खुल्यो भन्दै प्रत्येक व्यक्तिबाट १/१ हजार असुल्ने धन्दा, तपाईँ ठगिनुभयो कि ?

टेकपाना टेकपाना

पुस १५, २०८० १४:११

टेलिकममा जागिर खुल्यो भन्दै प्रत्येक व्यक्तिबाट १/१ हजार असुल्ने धन्दा, तपाईँ ठगिनुभयो कि ?

 

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकका ग्रुपमा नेपाल टेलिकममा 'कस्टमर केयर'को जागिर खुलेको भन्ने 'भ्रामक' पोस्ट फैलिएको छ । फरक-फरक व्यक्तिले फरक अकाउन्टबाट पोस्ट गरेपनि स्टाटसको शैली भने प्रायःको एउटै छ । उक्त पोस्टमा कक्षा १० पास गरेका मानिसलाई लक्षित गर्दै टेलिकमले 'कस्टुमर केयर' का लागि जागिर खुलाएको दाबी गरिएको छ ।

मानिसहरूलाई आकर्षित गर्न पाेस्टमा उनीहरूले भनेकै जिल्लामा जागिर उपलब्ध गराइदिने वाचा गरिएकाे छ । फर्म भर्नका लागि दिइएकाे नम्बरमा ह्वाट्सएप गर्न र फारम शुल्क एक हजार रुपैयाँ लाग्ने बताइएको छ ।

२०८० मंसिर २५ गतेदेखि सुरु भएको फारम माघ २५ गतेसम्म सञ्चालन हुने समेत उल्लेख छ । त्यति मात्र नभइ १०० जनालाई रोजगार उपलब्ध गराउने र सुरुको महिना २५ हजार रुपैयाँ तलब र दोस्रो महिनादेखि २८ हजारदेखि ३० हजार तलब पाउने दाबी गरिएको छ ।

उनीहरूले फारम भर्नका लागि आफूलाई नागरिकताको फोटो, १० कक्षा पास गरेको विवरण, फारम शुल्क र व्यक्तिगत जानकारी उपलब्ध गराउन भनेका छन् ।

टेलिकमले भने यसरी सामाजिक सञ्जालबाट कुनै पनि व्यक्तिले गरेका विज्ञापनमा भर नपर्न सुझाव दिएको छ । यस विषयमा टेकपानासँग कुरा गर्दै टेलिकमका प्रवक्ता शाेभन अधिकारीले भने, "हामीले विज्ञापन माग्यौं भने हाम्रो आधिकारिक वेबसाइट, सामाजिक सञ्जालका अकाउन्ट र पत्रिकामा सूचना आएको हुन्छ । कुनै व्यक्तिले आफू टेलिकमको कर्मचारी भएको दाबी गर्दै जागिर उपलब्ध गराउने भनेको छ भने त्यस्तो भ्रममा नपर्नुहोला ।"

टेलिकमले जागिर खुलाएको बेला वेबसाइटको 'भ्याकेन्सी' सेक्सनमा सूचना हुने भएकाले कुनै पनि विज्ञापन देखिए त्यही सेक्सनमा गएर अधिकारिकता जाँच गर्न प्रवक्ता अधिकारीले सुझाव दिए ।

त्यस्तै केही व्यक्तिले टेलिकमले आउटसोर्सिङ गर्ने भएकाले आफूबाट कर्मचारी माग गरेको दाबी समेत गर्न सक्छन् । अधिकारीका अनुसार टेलिकमले आउटसोर्सिङका लागि कर्मचारी माग गरे पनि कर्मचारी उपलब्ध गराउने कम्पनीले टेलिकमका लागि जागिर खुलेको भनेर विज्ञापन दिन पाउँदैन । 

त्यसका साथै आवेदनका लागि कुनै कर्मचारी माग गरेको छ भने टेलिकमले नमस्ते पे वा आधिकारिक बैंक अकाउन्टमा रकम जम्मा गर्न लगाउँछ । यसरी आवेदन रकमका लागि कुनै व्यक्तिलाई जिम्मा नदिने भएकाले पनि व्यक्तिगत रूपमा कसैले आफूलाई रकम पठाइदिने फारम गर्दै रकम माग गरेर पोस्ट राखेको छ भने शंका गर्नुपर्ने उनले सुनाए ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १५:२१