close

एमबीएस प्रश्नपत्र लिक प्रकरण: शुक्रबारको परीक्षा रद्द नहुने

टेकपाना टेकपाना

साउन १०, २०८३ १८:४२

एमबीएस प्रश्नपत्र लिक प्रकरण: शुक्रबारको परीक्षा रद्द नहुने

काठमाडौं । शुक्रबार मास्टर्स इन बिजनेस स्टडिज (एमबीएस) परीक्षा सुरु भएको केही समयमा नै सामाजिक सञ्जालमा प्रश्नपत्र लिक भएको घटना बाहिरिएपछि अब दिइसकेको परीक्षा के हुन्छ भन्ने विषयमा विद्यार्थीहरूमा अन्योलता देखिएको छ । शुक्रबार सम्पन्न ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षाको प्रश्नपत्र लिक भएपछि परीक्षा दिइसकेका विद्यार्थीहरूले अब फेरि पनि परीक्षा दिनुपर्ने हो कि भन्दै सामाजिक सञ्जालमा प्रश्न गरिरहेका छन् । सो विषयमा जानकारी दिँदै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्राडा. महानन्द चालिसेले शुक्रबार लिइएको ‘एमजीटी ५१५: अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षा रद्द नहुने बताएका छन् । 

परीक्षा भएको केही समयपछि मात्र प्रश्नपत्र लिक भएकाले तत्कालै परीक्षा रद्द गर्नुपर्ने कारण नभएको उनले बताए । उनले भने, “अहिलेसम्मको अवस्था हेर्दा परीक्षा हुनुभन्दा पहिले नै प्रश्नपत्र आउट भएको देखिँदैन । परीक्षा सुरुभएको केही समय पछि मात्र लिक भएको देखिएको छ । यदि परीक्षा सुरु हुनुभन्दा पहिले नै आउट भएको भए तत्कालै परीक्षा रद्द गरिन्थ्यो ।” हाल भने घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको र समितिको प्रतिवेदनबाट आएको निष्कर्ष अनुसार कारबाही अघि बढाउने उनले बताए । 

बिहीबारबाट एमबीएसको परीक्षा सुरु भएको थियो । परीक्षाको दोस्रो दिन अर्थात् शुक्रबार ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र लिक भएको स्क्रिनशट फेसबुकमा त्रिवि स्टुडेन्ट्स नामको ग्रुपमार्फत सार्वजनिक भएको थियो । एमबीएसको परीक्षा १२ बजे सुरु भएको थियो । १२:०५ मा पीडीएफ फाइल बनाएर ‘MBS 1st Sem Section C’ नामको एक हजार बढी विद्यार्थी भएको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र लिक भएको उक्त स्क्रिनसटमा देख्न सकिन्छ । सो घटनामा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार दुई जनालाई पक्राउ समेत गरेको छ । 

अब एबीएसको अर्को परीक्षा सोमबार हुँदैछ भने १५ साउनमा एमबीएस प्रथम सेमेस्टरको सबै परीक्षा सकिँदैछ । डीन चालिसेले आगामी परीक्षाहरू पनि पूर्वनिर्धारित समय अनुसार नै हुने बताए । उनले भने, “सबै केन्द्रहरूलाई पूर्वनिर्धारित समयअनुसार नै सञ्चालन गर्न भनेका छौँ । मोबाइल लैजान नदिन कडाइ गर्न निर्देशन दिइसकेका छौँ ।”

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ १८:५५