close

एमबीएस प्रश्नपत्र लिक सामान्य घटना होइन, दोषी जोसुकै भए पनि कारबाही हुन्छ - शिक्षामन्त्री

टेकपाना टेकपाना

साउन १०, २०८३ २१:३

एमबीएस प्रश्नपत्र लिक सामान्य घटना होइन, दोषी जोसुकै भए पनि कारबाही हुन्छ - शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । उनले यो घटना परीक्षा प्रणालीमाथिको विश्वास, शैक्षिक संस्थाको विश्वसनीयता र हजारौं इमानदार विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गम्भीर रूपमा लिइएको बताएका हुन् ।

फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएको जानकारी पाएलगत्तै अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको उल्लेख गरेका छन् । उनका अनुसार त्यसको परिणामस्वरूप २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपी प्रहरी नियन्त्रणमा परेका थिए ।


उनले डिजिटल प्रमाण र ह्वाट्सएप समूहहरूको विश्लेषणका आधारमा मुख्य आरोपितहरू पक्राउ परेको उल्लेख गर्दै अनुसन्धान अझै जारी रहेको र घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेका छन् ।

मन्त्री पोखरेलले यो घटनालाई केही व्यक्तिको गल्तीमा मात्र सीमित गर्न नहुने बताउँदै आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्, "यो परीक्षा प्रणालीभित्र रहेका सम्भावित कमजोरीहरूको समीक्षा गर्ने अवसर पनि हो । त्यसैले प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन प्रक्रिया र सम्भावित आन्तरिक कमजोरीहरूको समेत छानबिन गर्न आवश्यक रहेकोमा मैले जोड दिएको छु ।"

मन्त्री पोखरेलले परीक्षा प्रणालीमाथिको जनविश्वास कायम राख्नु राज्यको दायित्व भएको उल्लेख गर्दै आवश्यक कानुनी तथा संस्थागत सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

विगतमा यस्ता घटनामा छानबिन लम्बिने र दोषी उम्किने गुनासो आउने गरेको उल्लेख गर्दै उनले अब त्यस्तो संस्कृतिको अन्त्य हुनुपर्ने बताएका छन् । साथै, इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन र शिक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित तथा विश्वसनीय बनाउन मन्त्रालयले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ २१:५