close

भारत प्रवेशका लागि राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपाल सरकारको प्रस्ताव, भारतसँग छलफल जारी

टेकपाना टेकपाना

साउन १०, २०८३ २०:११

भारत प्रवेशका लागि राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपाल सरकारको प्रस्ताव, भारतसँग छलफल जारी

काठमाडौं । नेपाल सरकारले नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका आधारमा पनि भारत प्रवेश गर्न पाउने व्यवस्था मिलाउन भारत सरकारसँग औपचारिक अनुरोध गरेको छ । अध्यागमन विभागको सिफारिसमा गृह र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यससम्बन्धी प्रस्ताव पठाइएको हो ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले विभागको सिफारिस बमोजिम करिब दुई हप्ता अघि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसमक्ष यससम्बन्धी पत्राचार गरिएको बताए । टेकपानासँग कुरा गर्दै ढकालले भने, “विभागको सिधा पत्राचार गर्ने कानुनी व्यवस्था नभएकाले गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई प्रस्ताव पठाएका हौँ ।”

पत्र पठाएपछि भारतबाट अहिलेसम्म कुनै औपचारिक जवाफ भने आइनसकेको विभागले जनाएको छ । प्रवक्ता ढकालले भने, “अहिले पत्रमार्फत प्रस्ताव गइसकेको छ, हामी छलफलमै छौँ । भारतीय दूतावाससँग पनि यस विषयमा छलफल भइरहेको छ र सकारात्मक नतिजा आउनेमा हामी आशावादी छौँ ।”

हाल नेपाली नागरिकलाई भारत यात्रा गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानी (पासपोर्ट) आवश्यक पर्ने व्यवस्था छ । यसअघिको व्यवस्था र नयाँ प्रस्तावबारे प्रष्ट पार्दै ढकालले भने, “यसभन्दा अगाडि नागरिकता र राहदानीलाई मात्र मान्यता दिइएको थियो । अब राष्ट्रिय परिचयपत्रलाई तेस्रो कागजातका रूपमा मान्यता दिइयोस् भनेर हामीले लेखेर पठाएका छौँ । यो निर्णय भारत सरकारमा निर्भर गर्ने भएकाले ठ्याक्कै समय भन्न त सकिँदैन, तर प्रक्रिया छिट्टै टुङ्गिने अपेक्षा गरेका छौँ ।”

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ २०:११