close

गाँजा मिसाइएको केक अनलाइनमार्फत बिक्री, डार्क वेबमा फेला पर्थे ग्राहक

टेकपाना टेकपाना

पुस २२, २०८० १६:२७

गाँजा मिसाइएको केक अनलाइनमार्फत बिक्री, डार्क वेबमा फेला पर्थे ग्राहक

काठमाडौं । अवैध लागूऔषध गाँजा मिसाई केक तयार पारेर अनलाइनमार्फत बिक्री गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले आइतवार काठमाडौंको घट्टेकुलोबाट २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार आरोपी मानन्धर विगत एक वर्षदेखि इन्स्टाग्राममा ‘bamb.oong_nepal’ नामक अकाउन्ट बनाएर अवैध लागूऔषध प्रयोग गरी मफिन लगायत केक बनाई बिक्री वितरण गर्दै आएका थिए ।

ब्यूरोलाई यस विषयमा गोप्य सूचना प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरी टोलीले मानन्धरलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घर-कोठा खानतलासीको क्रममा गाँजाको धुलो १२९ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम र गाँजा ३ केजी ७५४ ग्राम बरामद गरेको छ ।

त्यस्तै उनको कोठाबाट डिजिटल तराजु, इलेक्ट्रिक ओभन, एटीएम कार्ड, बेकर्स क्रियसन लिमिटेडको भौचर, दुई ओटा केक बनाउने ट्रे पनि बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नै घरमा गाँजा मिसावट गरी विभिन्न प्रकारका केक बनाउने गरेको खुलेको छ । त्यही केकलाई उनी विभिन्न व्यक्तिलाई अनलाइनमार्फत बिक्री गर्दै आएका थिए ।

आफ्नो अवैध कारोवारलाई गोप्य रुपमा सञ्चालन गर्न मानन्धरले डार्क वेब प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले ‘bamb.oong_nepal’ पेज फलो गर्ने विश्वासिला व्यक्तिहरुलाई मात्र राइड शेयरिङ सेवा इनड्राइभ मार्फत केक डेलिभरी गर्थे । उनीमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पछिल्लो समय बजारमा फेसबुक, इन्स्टाग्राम लगायत अन्य सामाजिक सञ्जालका पेजबाट गाँजा मिश्रित केकको अवैध कारोबार गर्नेहरू बढेका छन् । यस्ता गतिविधि भएको देखिए खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०८० १६:२७