close

विश्व हिन्दु परिषद्‌ले चर्को विरोध गरेपछि नेटफ्लिक्सले प्लेटफर्मबाट हटायो भारतीय फिल्म

टेकपाना टेकपाना

पुस २७, २०८० १७:१२

विश्व हिन्दु परिषद्‌ले चर्को विरोध गरेपछि नेटफ्लिक्सले प्लेटफर्मबाट हटायो भारतीय फिल्म

काठमाडौं । एक हिन्दु पुजारीकी छोरीले मासु खाइरहेको दृश्य समावेश गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि नेटफ्लिक्सले आफ्नो प्लेटफर्मबाट एक भारतीय भाषाको चलचित्र हटाएको छ । भारत हिन्दु धर्मको बाहुल्ययता भएको मुलुक हो र खासगरी हिन्दु पुजारीको परिवार विशेषत शाकाहारी हुने भन्ने मानिन्छ ।

गत डिसेम्बरमा हलहरू प्रदर्शनमा आएको तमिल भाषाको फिल्म "अन्नपूरणी- द गडेस फर फुड" सोही महिनाको अन्त्यतिर नेटफ्लिक्समा आएको थियो । तर बिहिवार पश्चात् भने अब उक्त फिल्म सो अन्तर्राष्ट्रिय स्ट्रिमिङ प्लेटफर्मबाट हटेको छ ।

बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी निकट मानिने कट्टर हिन्दुवादी सङ्गठन विश्व हिन्दु परिषद्‌ले सो विषयलाई लिएर विरोध कार्यक्रम समेत आयोजना गरेको थियो । विश्व हिन्दु परिषद्‌का प्रवक्ता श्रीराज नायरले एक्समा पोस्ट गरे अनुसार उनको सङ्गठनले बुधवार नेटफ्लिक्सको मुम्बई स्थित कार्यालय अगाडि कम्पनी विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो ।

फिल्ममा दक्षिण भारतीय राज्य तमिलनाडूमा रहेको मन्दिरका एक हिन्दु पुजारीकी छोरीले मासु खाएको र पछि उनले खानाको परिकार बनाउने प्रतिस्पर्धामा सहभागी हुने क्रममा मासु पकाएको चित्रण गरिएको थियो । 

"यो फिल्म... नियोजित रूपमा हिन्दु भावनामाथि ठेस पुर्‍याउनकै लागि रिलिज गरिएको हो," आफूलाई हिन्दु आईट सेल प्रमुख बताउने रमेश सोलाङ्कीले एक्समा भनेका छन् । आफूले मुम्बई पुलिसमा उक्त फिल्मको विषयलाई लिएर हिन्दुलाई आघात पुर्‍याउने थुप्रै सिनसहित उजुरी दायर गरेको सोलाङ्कीले उल्लेख गरेका छन् ।

नेटफ्लिक्ससहित अमेजन र डिज्नी जस्ता स्ट्रिमिङ प्लेटफर्मले भारतका कट्टर धार्मिक समूहबाट प्रायः आलोचनाको शिकार हुँदै आएका छन् । सन् २०२१ मा "दाण्डव" सिरिजका केही सिनहरूको विषयलाई लिएर अमेजनले माफी नै माग्नु परेको थियो ।

सो विषयमा अदालतमा मुद्दा समेत खेपेको उक्त कम्पनी माथि हिन्दुलाई चोट पुर्‍याएको उजुरी परेको थियो । भारतमा नेटफ्लिक्स र अमेजन निकै लोकप्रिय छन्, जुन क्षेत्र सन् २०२७ सम्म वृद्धि भएर सात अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको मिडिया पार्टनर एसियाले उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १७:१२