close

आमिर खानका छोराको डेब्यु फिल्म नेटफ्लिक्समा प्रिमियर नहुँदै विवादित

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १४:२५

आमिर खानका छोराको डेब्यु फिल्म नेटफ्लिक्समा प्रिमियर नहुँदै विवादित

 

काठमाडौं । बलिउड स्टार आमिर खानका छोरा जुनैद खानको डेब्यु फिल्म ‘महाराज’ नेटफ्लिक्समा प्रिमियर हुनुअघि विवादमा परेको छ । सो फिल्मलाई लिएर अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नकारात्मक टिप्पणीको लहर चलाएका छन् ।

‘बाेइकट नेटफ्लिक्स’, ‘ब्यान महाराज फिल्म’, ‘आमिर खान’ लगायतका ह्यासट्याग बिहीवार बिहानदेखि एक्स (पहिलेकाे ट्वीटर) मा ट्रेन्डिङमा छन् । आज रिलिज हुने फिल्मलाई लिएर हिन्दु अभियानकर्ताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।

फिल्ममा हिन्दु धर्मलाई लिएर नकारात्मक दृश्य रहेको उनीहरूकाे आरोप छ । तर अहिलेसम्म यस फिल्मको कुनै पनि ट्रेलर, टिजर वा क्लिप बाहिरिएको छैन । 

हालसम्म फिल्मका दुई मुख्य कलाकार जुनैद र जयदीपको तस्वीर भएको एउटा पोस्टर मात्रै सार्वजनिक भएको छ । पोस्टरमा जयदीपको निधारमा धार्मिक चिन्ह र जुनैद एक पत्रकारको भूमिकामा रहेकाे देख्न सकिन्छ । यसपछि विभिन्न व्यक्तिले आमिर खानले सनातन धर्म विरुद्ध आफ्नो छोरालाई प्रयोग गरेको आरोप लगाएका छन् । सिद्धार्थ पी मल्होत्राको निर्देशन रहेको यस फिल्म १८७२ को महाराज लिबेल केसबाट प्रेरित भएर बनाइएको बताइएको छ ।

यसअघि २०२२ मा आमिर खानको ‘लाल सिंह चड्ढा’ समेत यस्तै विवादमा तानिएको थियो । यसका साथै सन् २०१५ ताका आमिर खानले हिन्दु धर्मबारे नकारात्मक टिप्पणी गरेपछि उनका फिल्म बहिष्कार गर्न धेरैले दबाब दिएका थिए ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १४:२५