close

एलन मस्कको स्पेसएक्समा ड्रग्स प्रयोग भएको कुनै प्रमाण भेटिएनः नासा

टेकपाना टेकपाना

पुस २९, २०८० १३:२१

एलन मस्कको स्पेसएक्समा ड्रग्स प्रयोग भएको कुनै प्रमाण भेटिएनः नासा

 

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अर्बपति एलन मस्कको स्पेसएक्समा ड्रग्स प्रयोग भएको कुनै प्रमाण नभएको बताएको छ । मस्कले अवैध ड्रग्स प्रयोग गर्ने गरेको भन्ने समाचार अत्यधिक फैलिएपछि नासाले अनुसन्धान गरेर ड्रग्स प्रयोग भएको कुनै प्रमाण नभेटिएको दाबी गरेको हो ।

ब्लुम्बर्गलाई प्राप्त विज्ञप्तिमा नासाले उक्त विषयको पुष्टि गरेको छ । “स्पेसएक्सले लागूऔषध र मदिराबाट मुक्त वर्कफोर्ससँग सम्बन्धित नियमहरू पालना गरेको छैन भन्ने कुनै प्रमाण वा जानकारी फेला परेको छैन,” विज्ञप्तिमा उल्लेख छ, “एजेन्सीसँग काम गर्ने स्पेसएक्स जस्ता कम्पनीहरूले मिसनहरू सञ्चालन गर्दा होस् वा अमेरिकी बासीलाई सेवा प्रदान गर्दा होस्, त्यस काममा सबै सुरक्षा नियम पूर्ण रूपमा पालना गर्ने अपेक्षा गर्छ ।”

वालस्ट्रिट जर्नलले पनि एलन मस्कले विभिन्न अवैध लागूऔषध जस्तै कोकिन, एक्स्टसी र मशरुम प्रयोग गर्ने गरेको दाबी गरेको थियो । त्यस्तै स्पेसएक्सका कार्यकारी पनि एलन मस्क ड्रग्समा रहेकाले चिन्तित रहेको उक्त सञ्चार माध्यमले उल्लेख गरेको थियो ।

यसरी मस्कले अवैध ड्रग्स प्रयोग गर्ने गरेको भन्ने समाचार आएपछि उनले त्यसको प्रतिकार गर्दै शुक्रवार एक्स मार्फत उनी र स्पेस एक्सका कर्मचारीले वर्षौंदेखि गर्दै आएको ‘ड्रग टेस्ट’मा सफल भएको उल्लेख गरेका थिए ।

त्यसबाहेक मस्कले सन् २०१८ मा जो रोगानसँगको पोडकास्टमै गाँजा सेवन गरेपछि नासाले उनको कम्पनीमा परीक्षण गर्न खोज्दा उनी त्यसमा सहमति भएका थिए ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १३:२७