काठमाडौं । इन्टरनेट सेवा सम्बन्धी ग्राहकको गुनासो समाधान गर्न सेवाप्रदायकले टोल फ्री नम्बरको व्यवस्था गरेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने निर्देशन दिएपछि हालसम्म ८६ सेवाप्रदाायकले यस्तो नम्बर प्रयोगमा ल्याएका छन् ।
अनुमति पत्रको शर्त कार्यान्वयन गर्न र ग्राहकहरूको गुनासो समाधान गर्नका लागि भन्दै प्राधिकरणले सेवाप्रदायकलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको थियो । सेवाप्रदायकले अनुमतिपत्रको शर्तअनुसार शुल्कसम्बन्धी विवरण निःशुल्क रुपमा उपलब्ध गराउनु पर्नेछ ।
साथै ग्राहकको गुनासो तोकिएको समयभित्र समाधान गर्नुपर्ने छ । तर इन्टरनेटको गुनासो गर्ने विषयमा कम्पनीहरूले राम्रो व्यवस्था नगर्दा ग्राहक मर्कामा परिरहेकाले सेवाप्रदायकले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने निर्देशक प्राधिकरणले दिएको थियो । यसको उद्देश्य ग्राहकले चाहेको समयमा सेवाप्रदायकलाई आफ्नो गुनासो टिपाउन सकून् भन्ने हो ।