close

लाइसेन्समा न्यूनतम उमेर ३ वर्षले बढ्दै, ८ पास नभए र ६० नाघे सार्वजनिक सवारी चलाउन नमिल्ने

टेकपाना टेकपाना

माघ २५, २०८० १७:२१

लाइसेन्समा न्यूनतम उमेर ३ वर्षले बढ्दै, ८ पास नभए र ६० नाघे सार्वजनिक सवारी चलाउन नमिल्ने

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने न्यूनतम उमेर तीन वर्षसम्म बढाउने भएको छ । अन्तिम चरणमा रहेको सवारी तथा यातायात ऐन संशोधनको मस्यौदामा सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने न्यूनतम उमेर दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका लागि दुई वर्ष, चार पाङ्ग्रेका लागि तीन वर्ष र ठूला सवारीको हकमा दुई वर्ष थप उमेर चाहिने बनाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय स्रोतले विधेयक मस्यौदा केही दिनमै स्वीकृतिका लागि मन्त्रिपरिषद्‌ पठाइने बताएको छ । त्यसपश्चात् उक्त विधेयक सङ्घीय संसद्‌मा छलफलका लागि जानेछ र पारित भएपश्चात् राष्ट्रपतिबाट प्रमाणित भएपछि ऐनको रूपमा जारी हुनेछ । 

हाल दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी चालकका लागि १६ वर्ष, चार पाङ्ग्रेका लागि १८ वर्ष र ठूला सवारीका लागि २१ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । तर ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा भने दुई पाङ्ग्रे र तीन पाङ्ग्रेका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ । 

त्यस्तै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रका लागि २१ वर्ष र ठूला सवारीका लागि २३ वर्ष पूरा नभएमा अयोग्य मानिने उल्लेख छ । यस्तै विधेयकमा निजी र सार्वजनिक सवारी चालकका लागि छुट्टाछुट्टै लाइसेन्सको व्यवस्था गर्ने तयारी समेत सरकारले थालेको छ । 

विधेयक मस्यौदामा समेटिएको उक्त प्रावधान अनुसार सार्वजनिक सवारी चालकका लागि व्यावसायिक सवारी चालक अनुमतिपत्रको व्यवस्था गरिएको छ। यस किसिमको लाइसेन्स प्राप्त गर्न आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । 

यति मात्र नभएर ठूला र मझौला सार्वजनिक सवारी चालक अनुमतिपत्रका लागि साठी वर्ष उमेर पूरा गरेका व्यक्ति समेत अयोग्य हुने उल्लेख छ ।  

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १७:२१