close

प्रहरी मातहत देशभर झण्डै १४ हजार सीसीटिभी क्यामेरा, ६ महिनामै ४० हजार बढीलाई ट्राफिक कारबाही

टेकपाना टेकपाना

फागुन ७, २०८० ११:२०

प्रहरी मातहत देशभर झण्डै १४ हजार सीसीटिभी क्यामेरा, ६ महिनामै ४० हजार बढीलाई ट्राफिक कारबाही

काठमाडौं । २९ भदौ राति काठमाडौं तिनकुनेस्थित दिव्य स:मिलमा चार जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा सीसीटिभीबाट अभियुक्तको हुलिया खुल्यो । र सोही आधारमा संलग्न अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।

त्यस्तै १७ पुस दिउँसोको समयमा दहचोकदेखि कालीमाटी आउने क्रममा एक जना पीडितको साथमा रहेको १ लाख ३० हजार रुपैयाँ भएको झोला खसेर हरायो । सीसीटिभी क्यामेराको रेकर्डमा हेर्दा उक्त झोला बा.६३ प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेको देखियो । चालकसँग समन्वय गरी प्रहरीले उक्त नगद पीडितलाई बुझाउन बुझायो ।

यी केही प्रतिनिधि घटना हुन् । यसरी हुने दिनहुँ भइरहने घटनाको निगरानी तथा घटिसकेका घटनाको फुटेज पहिचान गरी विश्लेषणबाट प्रहरी अनुसन्धानमा निकै ठूलो मद्दत पुग्ने गरेको छ ।

सीसीटिभी मनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा तथा हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्ने काम पनि हुने गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल समाजमा शान्ति-सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारबाही गर्न सीसीटिभी क्यामेरा प्रभावकारी बनिरहेको बताउँछन् ।

“यसले चोरी डकैती लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरण तथा नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सहज तथा प्रभावकारी बनाउन मद्दत गरिरहेको छ,” उनी भन्छन्, “त्यसैले प्रहरी सङ्गठनले सीसीटिभी प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।”

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा देशभर प्रहरी निकाय अन्तर्गत १,२९५ ओटा थप सीसीटिभी जडान भएका छन् । जसमध्ये काठमाडौं उपत्यका अन्तर्गत २६१, कोशी प्रदेशमा ३९०, मधेश प्रदेशमा ७०, बागमतीमा १२६, गण्डकीमा १६२, लुम्बिनीमा १०३, कर्णालीमा ९४ र सुदूरपश्चिममा ८९ ‌ओटा रहेका छन् । 

विभिन्न सङ्घसंस्थाबाट १,११४ ओटा र प्रहरी कार्यालयबाट १८१ ओटा गरी उल्लिखित सीसीटिभी क्यामेरा जडान गरिएका हुन् । हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सीसीटिभी क्यामेराको सङ्ख्या १३ हजार ६७५ रहेका छन् । 

तीमध्ये ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गतमात्रै तीन हजार ९९३ ओटा रहेका छन् । त्यस बाहेक कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत दुई हजार ४५८ ओटा र मधेस प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ५३२ ‌ओटा छन् । 

त्यस्तै  बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ३६८, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ६५१, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ४१०, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४४८ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८१५ ओटा सीसीटिभी क्यामेरा सञ्चालित छन् । 

सीसीटिभी क्यामेराको प्रयोगले मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापन, विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका राख्ने गरेको छ ।

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण लगायत सुशासनसँग सम्बन्धित विषयमा प्रभावकारी काम गर्न सूचना तथा सञ्चार प्रविधि सरल माध्यम बनेको छ । यस प्रणालीलाई प्रभावकारी बनाई सोको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सीसीटिभी क्यामेराको भूमिका महत्वपूर्ण रहेको प्रहरी नायब महानिरीक्षक ढकाल बताउँछन् । “क्यामेरा अकाट्य प्रमाण भएकोले घटनासँग सम्बन्धित मानिस उम्किन पाउँदैन,” उनी भन्छन् । 

चालु आर्थिक वर्षको पुससम्मको छ महिनाको अवधिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगायत विभिन्न घटनामा कूल एक हजार २९७ फुटेज माग भएका थिए ।

जसमध्ये ५८१ फुटेज उपलब्ध गराइएको प्रहरीले जनाएको छ । सोही फुटेजहरूको आधारमा ४०९ ओटा घटनाको अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । 

सो अवधिमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार १४ हजार ६३३ जना र ट्राफिक सपोर्ट कारबाही २५ हजार ६३६ जना गरी ४० हजार २६९ जनालाई सीसीटिभीकै आधारमा पहिचान तथा फलोअप गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । 

सीसीटिभी मनिटरिङका सम्बन्धमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी सञ्चार तथा सीसीटिभी शाखाका प्रमुख प्रहरी उपरीक्षक दामोदर कँडेल भन्छन्, “आधुनिक प्रविधिको प्रयोग गर्दै २४ सै घण्टा सीसीटिभीको माध्यमले मनिटरिङ गरी परिणाममुखी एवम् प्रमाणमुखी प्रहरी कार्यलाई थप व्यवस्थित बनाउन निरन्तर लागिरहेका छौं ।"

पछिल्लो अध्यावधिक: फागुन ७, २०८० ११:२२