close

ललितपुरमा अब सीसीटीभी क्यामेरा हेरेर ट्राफिक नियम तोड्नेलाई कारबाही गरिने

टेकपाना टेकपाना

जेठ २७, २०८१ १५:४५

ललितपुरमा अब सीसीटीभी क्यामेरा हेरेर ट्राफिक नियम तोड्नेलाई कारबाही गरिने

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले आजदेखि सीसीटीभी क्यामेरामार्फत निगरानी गरेर ट्राफिक नियम तोड्नेलाई कारबाही गर्ने भएको छ । आइतबार एक कार्यक्रम गर्दै परिसरले सीसीटीभी क्यामेरामार्फत निगरानी गरेर कारबाही गर्ने कामको औपचारिक सुरुवात गरेको हो । 

सीसीटीभी क्यामेरामार्फत निगरानी गरेर कारबाही गर्ने काम प्रहरीले यसअघि काठमाडौं जिल्लाभित्र मात्रै गर्दै आएको थियो । आवश्यक स्थानमा सीसीटीभी क्यामेरा थप गर्दै परिसरले आइतबारदेखि ट्राफिक नियम तोड्नेलाई सीसीटीभी क्यामेरा मार्फत निगरानी गरेर कारबाही गर्न सुरु गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । 

“ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्नेहरू विरुद्ध कडाइ गर्नका लागि ट्राफिक गतिविधि नियमन गर्ने र कारबाही गर्ने उद्देश्यले यो परियोजना सुरु गरेका छौं,” सुवेदीले टेकपानासँग भने, “यसका लागि हाम्रो प्रहरीको सीसीटीभी कक्षमा २४ सैं घण्टा प्रहरी जनशक्ति खटाइएको छ ।”

ट्राफिक प्रहरी जनशक्तिले सीसीटीभी क्यामेरा निगरानी गर्ने र सडकमा ट्राफिक नियम उलङ्घन गर्नेलाई तत्कालै कारबाहीका लागि सिफारिस गर्ने उनले बताए । यसका लागि ट्राफिक प्रहरीले सवारी साधनको नम्बरको अभिलेख राख्नेछन् । र, कारबाही गर्न नजिकको प्रहरीलाई जानकारी दिनेछन् ।

त्यस्तै सवारी चालकले कुनै दुर्घटना निम्त्याएमा वा अन्य अपराध गरेर फरार रहेको अवस्थामा सीसीटीभीमार्फत निगरानी गरी ऊ गइरहेको बाटोमा पर्ने प्रहरी र यातायात कार्यालयलाई त्यसबारे जानकारी दिइने उनले सुनाए ।

यसअघि सीसीटीभी क्यामेरा भए पनि त्यसैबाट निगरानी गरेर कारबाही हुने गरेको थिएन । “जनघनत्व बढ्दै गयो, अपराध बढिरहेको अवस्था छ,” उनले भने, “निष्पक्ष अनुसन्धान होस् । दोषीलाई तत्कालै प्रमाण सहित पक्राउ गर्न सकियोस् र कारबाही होस् भन्ने तवरबाट थप क्यामेरा राखेर कारबाही सुरु गरेका हौं ।”

पर्याप्त क्यामेरा थप गरेपछि र आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेपछि औपचारिक रूपमा ट्राफिक नियम तोड्नेलाई कारबाही गर्ने कामको सुरु गरेको उनले सुनाए । 

“सबै ठाउँमा प्रहरी र ट्राफिक प्रहरी जनशक्ति नपुग्न सक्छ,” उनले भने, “प्रविधिको प्रयोग पनि बढिरहेको छ । सीसीटीभी क्यामेराबाट प्रभावकारी रूपमा नियमन हुने र जनशक्ति पनि कम लाग्ने भएकाले यसलाई सुरु गरेका छौं ।”

यससँगै अब आवश्यक सीसीटीभी क्यामेरा थप गर्नका लागि प्रक्रिया अगाडि बढेको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८१ १६:३