close

धरौटीमा छुटे रेस्टुरेन्टको ट्वाइलेटमा लुकेर युवतीको गोप्य भिडिओ खिच्ने सशस्त्रका डीएसपी

टेकपाना टेकपाना

फागुन १४, २०८० १८:३७

धरौटीमा छुटे रेस्टुरेन्टको ट्वाइलेटमा लुकेर युवतीको गोप्य भिडिओ खिच्ने सशस्त्रका डीएसपी

काठमाडौं । रेस्टुरेन्टको ट्वाइलेटमा लुकेर युवतीको अश्लील भिडिओ खिच्ने सशस्त्र प्रहरीका डीएसपी धरौटीमा छुटेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।

सशस्त्र प्रहरीको अग्नी ग्रुप चार नम्बर बाहिनी पोखरामा कार्यरत नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसीमाथि युवतीको अश्लील भिडियो खिचेको आरोप लागेको थियो । केसीले गत ५ फागुनमा स्वयम्भू स्थित न्यु इभन प्वाइन्ट रेस्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको अश्लील तस्विर भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई सोही दिन पक्रेको थियो ।

उनीविरुद्ध सोमबार नै सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो । उनी विरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ ।

घटना घटेको दिन साँझ डीएसपी केसी आफ्ना साथीसँग मदिरा पिउन उक्त रेस्टुरेन्ट पुगेका थिए । उनीहरूको अघिल्तिर रहेको अर्को टेबलमा केही समयपछि एक युवती र उनका पुरुष साथी आए । उनीहरू भने खाजा खान आएका भए पनि लामो समय रेस्टुरेन्टमै बसेका थिए ।

राति ९ः२० बजे केसी रेस्टुरेन्टको शौचालय गए र त्यसको केही समयपछि युवती पनि शौचालय पुगिन् । महिला र पुरुषका लागि छुट्‍टाछुट्‍टै शौचालय रहेको भए पनि त्यो पार्टेसन गरेर निर्माण गरिएको थियो । जसको माथिल्लो भाग खुल्लै रहेको बताइएको छ ।

महिलाले शौच गर्ने क्रममा माथि खुला रहेको भागबाट एकाएक मोबाइलको फ्ल्याश लाइट बल्यो । पुरुष शौचालय छिरेको कसैले आफ्नो गोप्य भिडियो बनाएको हुन सक्ने शङ्का ती महिलाले गरिन् ।

हतारिंदै बाहिर निस्केकी उनले रेस्टुरेन्टको काउन्टर पुगेर त्यसका सञ्चालकसँग सीसी क्यामेरा हेर्न लगाइन् । सीसीक्यामेरामा डीएसपी केसी शौचालयभित्र प्रवेश गरेको देखियो । युवतीले ती व्यक्तिलाई काउन्टरमै बोलाइदिन अनुरोध गरिन् ।

सोधपुछ गर्दा डीएसपी केसीले कसैको फोटो तथा भिडिओ नखिचेको दाबी गरे । युवतीसँगै आएका पुरुषले केसीको फोन चेक जाँच गर्ने प्रयास गरे । तर उनले खिचेको भिडिओ तथा फोटो हल्लाखल्ला भएको सुन्नासाथ डिलिट गरेसकेका थिए । डीएसपी केसीले युवतीको साथमा आएका पुरुषलाई लक खोलर आफ्नो आइफोनको हेर्न दिए ।

फोटो ग्यालरीमा युवतीको फोटो नभेटिएपछि आईफोनको रिसेन्ट डिलिट अप्सन चेक गर्दा त्यहाँ युवतीका दुई ओटा अश्लील फोटो र एउटा भिडिओ पाइयो । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे ।

युवतीको उजुरीपछि डीएसपी केसी पक्राउ परे । शुक्रबार स्वयम्भू प्रहरीले आवश्यक अनुसन्धान सकेर उक्त मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० १८:३७