close

यस्तो छ सामसङले ल्याएको स्मार्ट औंठी

टेकपाना टेकपाना

फागुन १५, २०८० १४:७

यस्तो छ सामसङले ल्याएको स्मार्ट औंठी

काठमाडौं । सामसङले औपचारिक रूपमा स्मार्ट औंठी ‘ग्यालेक्सी रिङ’ सार्वजनिक गरेको छ । बार्सिलोनामा जारी ‘मोबाइल वर्ल्ड कङ्ग्रेस २०२४’ मा कम्पनीले ग्यालेक्सी रिङ सार्वजनिक गरेको हो ।

विशेषगरी स्वास्थ्य सम्बन्धी सबै जानकारी औंठीले नै उपलब्ध गराउन कम्पनीले यस्तो डिभाइस ल्याएको बताएको छ । प्लाटिनम सिल्भर, गोल्ड र सेरामिक ब्ल्याक कलर अप्सनमा याे औंठी उपलब्ध हुनेछ ।

द भर्जका अनुसार लगाउँदा यो औंठी हलुका नै लाग्छ । पाँचदेखि १४ एमएम साइजमा पाइने यो औंठीलाई 'एस' र 'एक्सएल' लेबल गरिएको छ । त्यस्तै ब्याट्रीका सन्दर्भमा पनि यो औंठी १४.५ एमएएचदेखि २१.५ एमएएच क्षमताको ब्याट्री भेरियन्टमा उपलब्ध हुनेछ ।

स्वास्थ्यका विविध पक्ष ट्रयाक गर्नका लागि यसमा थुप्रै सेन्सर समावेश गरिएको छ । कम्पनीले सेन्सरका सन्दर्भमा नेचुरल साइकलसँग सहकार्य गरेको जनाइएको छ । त्यसका साथै यसले सटीक रूपमा स्लिप ट्रयाकिङ, हर्ट रेट ट्रेकिङ, स्टेप काउन्ट र ब्रिदिङ (श्वासप्रश्वास) प्याटर्न मापन गर्ने बताइएको छ ।

सामसङका अनुसार यो डिभाइसले प्रयोगकर्ताको स्लिप डेटालाई आधार बनाएर स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुझाव पनि दिनेछ । यसमा भएको अर्को युनिक फिचर ‘माई भाइटालिटी स्कोर’ हो । यो यस्तो फिचर हो, जसले प्रयोगकर्ताको सबै डेटालाई आधार बनाएर विभिन्न किसिमका इन्साइट्स र अल्टर्टनेस उपलब्ध गराउँछ ।

यसका लागि यो डिभाइसले स्लिप र अन्य स्वास्थ्यसँग सम्बन्धित डेटालाई आधार बनाउने बताइएको छ । कम्पनीले सामसङ हेल्थ इकोसिस्टममा ‘ग्यालेक्सी रिङ’ समावेश गर्ने बताइएको छ । विशेषगरी ग्यालेक्सी वाच डिभाइससँगै यो डिभाइस प्रयोग गर्न सकिनेछ ।

यसको मूल्य सार्वजनिक गरिएको छैन । २०२४ को अन्तिमसम्म यो डिभाइस सार्वजनिक हुने र त्यही समयमा यसको मूल्य बाहिर आउने अपेक्षा गरिएको छ ।

सुरुवाती समयमा सामसङ ग्यालेक्सी स्मार्टफोनका लागि मात्र यो डिभाइस उपयुक्त हुनेछ । तर, पछि यो डिभाइस अन्य एन्ड्रोइड तथा आईओएस डिभाइसका लागि पनि उपयुक्त हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० १२:६