close

बीवाईडीले ल्यायो विद्युतीय डान्सिङ सुपरकार यू९, मूल्य चीनमै ३ करोड माथि

टेकपाना टेकपाना

फागुन १७, २०८० १३:४३

बीवाईडीले ल्यायो विद्युतीय डान्सिङ सुपरकार यू९, मूल्य चीनमै ३ करोड माथि

काठमाडौं । विद्युतीय सवारी साधन र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले आफ्नो पहिलो प्रिमियम तथा लक्जरी ब्रान्ड याङ्गवाङ्ग अन्तर्गत विद्युतीय सुपरकार मोडल यूनाइन सार्वजनिक गरेको छ । चिनियाँ बजारमै यो गाडीको मूल्य १६ लाख ८० हजार युआन अर्थात् करिब तीन करोड नौ लाख रुपैयाँ राखिएको छ ।

याङ्गवाङ्ग यू १ को बिक्री यही वर्षको गर्मी याममा सुरु हुनेछ । विशिष्ट सौन्दर्य कला झल्किने यो गाडी मजबुत प्रविधि प्रयोग गरी ट्रयाक, सडक, तथा रमाइलोका लागि तयार गरिएको छ । याङ्गवाङ्ग यू नाइनमा ईफोर प्लेटफर्म र डिसुस-एक्स बडीलाई नियन्त्रण गर्ने इन्टेलिजेन्ट प्रणाली राखिएको छ ।

ईफोर प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटर रहेका छन्, चार ओटै पाङ्ग्राको स्वतन्त्र टर्क नियन्त्रण गर्ने प्रणालीले प्रयोगकर्तालाई सुरक्षा, पर्फर्मेन्स र आरामदायी अनुभूति दिलाउँछ । याङ्गवाङ्ग यू नाइनमा१,३०० हर्स पावर र अधिकतम १६८० एनएम टर्क क्षमता रहेको छ ।

त्यस्तै यसमा रहेको बीवाईडी डिसस-एक्स भने इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली हो । जसले याङ्गवाङ्ग यूनाइनको सस्पेन्सनलाई उच्चतम ७५ एमएम सम्म लचकदार बनाएको छ ।

५०० एमएम प्रति सेकेण्डको सिङ्गल- एक्सिस लिफ्टिङ स्पिड र अधिकतम एक टनभन्दा बढी भार उठाउन सक्ने क्षमताले ब्रेकिङ, एक्सिलेरेसन, मोड र रोडको अवस्था जस्ता जुनसुकै परिस्थितिमा पनि यो गाडीमा चालक र यात्रु दुवैलाई अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने बताइएको छ ।यस अतिरिक्त याङ्गवाङ्ग यूनाइनले एक क्लिकमै सङ्गीतमा नृत्य गर्न सक्ने दाबी समेत गरिएको छ ।

हालसालै गरिएको एक परीक्षणमा याङ्गवाङ्ग यूनाइनको टप स्पिड ३०९.१९ किलोमिटर प्रति घण्टा पाइएको थियो । यो गाडीले २.३६ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति पकड्न सक्ने बताइएको छ । अधिकतम ५०० किलोवाटको चार्जिङ प्राप्त गर्न सकिने यो गाडीको सक्रिय र निष्क्रिय एरोडाइनामिक प्याकेजले ड्र्यागको इफिसियन्ट कम गर्ने र तापका कारण हुने क्षय घटाउने काम गर्छ।

याङ्गवाङ्ग यूनाइनको क्याबिनमा १४ तरिकाले एडजस्ट गर्न मिल्ने दुई ओटा सिट रहेका छन् । यसमा रहेको डाइनअडिओ इभिडेन्स जस्तो उच्चस्तरको अडिओ सिस्टम राखिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० १६:३९