close

कास्कीको अन्नपूर्ण गाउँपालिकामा सूचना प्रविधियुक्त एकीकृत पर्यटक सूचना केन्द्र

टेकपाना टेकपाना

फागुन १९, २०८० ८:२०

कास्कीको अन्नपूर्ण गाउँपालिकामा सूचना प्रविधियुक्त एकीकृत पर्यटक सूचना केन्द्र

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले सूचना प्रविधियुक्त एकीकृत पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याउने भएको छ । पालिकाले आउँदो सोमबारदेखि केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

शुक्रबार सूचना केन्द्रमा नै कार्यपालिकाको बैठक आयोजना गरी ‘एकीकृत पर्यटन सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०’ पारित भएको र सोमबारदेखि सञ्चालनमा ल्याउने निर्णय भएको प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार सूचना केन्द्र सञ्चालनमा आएपछि पर्यटन पोर्टल एवं मोबाइल एपमार्फत गाउँपालिकाको पर्यटन सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने छ ।

उक्त सूचना केन्द्रमार्फत यसअघि नै ३५ जना गाइडलाई तालिम प्रदान गरी लाइसेन्स समेत दिइएको थियो । गाउँपालिका भित्रिने पर्यटकहरूलाई सही सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तव्य र गतिविधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने, पर्यटकहरुलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एवं संस्कृति सहित पर्यटन सम्बन्धी सम्पूर्ण सूचना प्रदान गर्ने उद्देश्यले एकीकृत पर्यटन सूचना केन्द्र सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताए ।

अन्नपूर्ण गाउँपालिका पर्यटकीय हिसाबले महत्त्वपूर्ण सम्भावना बोकेको पालिका हो । यहाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर, घान्द्रुक, लान्द्रुक, घोरेपानी, अस्ट्रेलियन क्याम्प, पोथाना, भदौरे लगायत पर्छन् । 

पछिल्लो अध्यावधिक: फागुन १९, २०८० ८:२०