close

काठमाडौं महानगरमा नक्सा पास गर्दा अब घरधनीको बायोमेट्रिक चाहिने

टेकपाना टेकपाना

फागुन २०, २०८० १४:१९

काठमाडौं महानगरमा नक्सा पास गर्दा अब घरधनीको बायोमेट्रिक चाहिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । मङ्गलबारदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । 

विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बूढी औंला र चोर औंलाको चिन्ह लिइन्छ । यसलाई अद्यावधिक (अपडेट) गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ ।  

इन्जिनियर पाण्डेका अनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ । ईवीपीएस प्रणालीबाट आवेदन दिनुअघि इन्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात सङ्कलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट  भवन निर्माण इजाजतका लागि पेश गरिन्छ । सामान्यतः यो प्रक्रियाका लागि घरधनीले इन्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो । 

“महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ,” पाण्डेले भने, “विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।”

एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणाली (सिस्टम)ले नै हस्ताक्षर राखिदिन्छ । यो प्रणालीलाई अहिले सम्पत्ति कर आबद्ध भइसकेको महानगरले जनाएको छ । बैंकिङ प्रणालीसँग अटोमेसन भइसकेको छ भने भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोबाइलबाटै तिर्न सकिनेछ । 

प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकोले प्रमाणीकरण गर्न सहज हुनेछ । सम्पत्ति करसँग प्रणाली आबद्ध भइसकेकाले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० १४:२४