close

फेसबुक र इन्स्टाग्राम डाउन भएपछि एलन मस्कले उडाए मजाक

टेकपाना टेकपाना

फागुन २३, २०८० ११:५०

फेसबुक र इन्स्टाग्राम डाउन भएपछि एलन मस्कले उडाए मजाक

काठमाडौं । एलन मस्कले फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड्स डाउन भएपछि मजाक गरेका छन् । ती प्लेटफर्म डाउन भएको समाचार आउनासाथ सामाजिक सञ्जाल एक्सका मालिक मस्कले एक्समा ‘मिम’ राख्दै डाउन भएका प्लेटफर्महरूको मजाक उडाएका हुन् ।

नेपालमा समेत सामाजिक सञ्जालका यी प्लेटफर्म डाउन भएका थिए । मेटाका प्रमुख सामाजिक सञ्जाल नै नचलेपछि प्रयोगकर्ताले एक्समा पोस्ट राख्दै गुनासो गरेका थिए । यद्यपि डाउन भएको करिब एक घण्टामा ती प्लेटफर्म पूर्ववत् अवस्थामा आएका थिए ।

मस्कले पोस्ट गरेको मिममा मेटाका सञ्चार निर्देशक एन्डी स्टोनले एक्समा आफ्ना सामाजिक सञ्जालका प्लेटफर्ममा समस्या आएको पोस्ट गरेका थिए । मस्कले सोही पोस्टको स्क्रिनशट राखेर मिम बनाएका छन् ।

यसमा तीन ओटा पेन्गुइनले शिरमा पखेटा राखेर निराश भाव व्यक्त गरिएको देखाइएको छ, जसले थ्रेड्स, फेसबुक र इन्स्टाग्रामलाई दर्शाएका छन् । त्यसको विपरीतमा एक्सका रूपमा देखाइएको पेङ्गुइन छ, जसले ह्याट र कालो चस्मा लगाएको देखाइएको छ ।

मस्कले जुकरबर्गका सामाजिक सञ्जाललाई कटाक्ष गर्न खोजेको भन्दै एक्स प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् । मस्कले लेखेका छन्, “तपाईं यो पोस्ट पढिरहनु भएको छ किनभने हाम्रो सर्भरले काम गरिरहेको छ ।”

एलन मस्क मेटाको स्वामित्वमा भएका कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्दैनन् । उनी गोपनीयताको विषयलाई लिएर बेलाबखत यी प्लेटफर्मको मजाक उडाइरहेका हुन्छन् ।

जुकरबर्ग यतिबेला भारतीय व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा सहभागी हुन भारत आएका छन् । जुकरबर्ग भारतमा आउँदा मेटाका यी प्लेटफर्म डाउन हुनुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले संयोग भएको भन्दै मजाक गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: फागुन २५, २०८० ९:५५