close

फेसबुकमा चिनेका व्यक्तिको विश्वास गर्दा बिहारमा बेचिइन् नेपाली युवती

टेकपाना टेकपाना

फागुन २४, २०८० १२:१८

फेसबुकमा चिनेका व्यक्तिको विश्वास गर्दा बिहारमा बेचिइन् नेपाली युवती

काठमाडौं । कपडा पसलमा काममा लगाइदिन्छु भन्दै झुक्याएर भारत लगी बेचबिखन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटी र मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलबार ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका घर भएका २५ वर्षीय जीवन भन्ने रिकमन राई रहेका छन् ।

ब्युरोका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार आरोपित ती व्यक्तिले सबैभन्दा पहिले सामाजिक सञ्जाल फेसबुकबाट पीडित पहिचान गरेका थिए । “व्यक्ति पहिचान गर्नका लागि सबैभन्दा पहिले फेसबुकमा खोज्ने रहेछ,” टेकपानासँग कुरा गर्दै प्रहरी उपरीक्षक फुँयालले भने, “त्यसपछि राम्रो तलब हुने ठाउँमा जागिर मिलाइदिन्छु भन्दै भेटेको रहेछ ।”

पीडित भनिएकी ‘२६ बबरमहल’ विवाहित महिला हुन् । उनका पति रोजगारीका लागि विदेशमा छन् । उनले आफूले सिलाइ कटाइ सम्बन्धी तालिम लिएको भन्दै फेसबुकमा पोस्ट पनि राखेकी थिइन् । आरोपित राईले महिलाका यिनै पक्षलाई आधार बनाएर रोजगारीको प्रलोभन देखाए । “आफ्नो बारेमा कतिपय जानकारी महिलाले फेसबुकमै राखेकी थिइन्,” एसपी फुँयालले भने, “कतिपय व्यक्तिगत कुराहरू मेसेजमा च्याट गर्दा थाहा पाए ।”

त्यसपछि ती व्यक्तिले महिलालाई बुटवलको कपडा पसलमा राम्रो काम लगाइदिने प्रलोभन देखाए । “तिम्रो बुढालाई पछि धेरै पैसा कमाएर सर्प्राइज दिनुपर्छ,” आरोपित राईले महिलासँग गरेको कुराकानीलाई उद्धरण गर्दै एसपी फुँयालले भने, “त्यति भनेपछि महिलालाई पनि विश्वास लाग्यो । महिनाको ४०/५० हजार तलब हुने भनेपछि उनी उत्साहित भइन् ।”

यसरी माघ ४ गते आरोपित राईले महिलालाई काठमाडौंमा बोलाए । अनि काठमाडौंबाट वीरगञ्ज, रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पुर्‍याए । त्यसमा पनि मोडर्न फेसन ट्रेड मार्क नामको कम्पनीमा महिलालाई बुझाए । 

उक्त कम्पनीमा बुझाइसकेपछि महिलालाई सात दिनको तालिम लिनुपर्छ भनियो । उक्त तालिम वापत महिलाले एक लाख ८० हजार रुपैयाँ तिर्नुपर्ने भयो । “तालिम सकिएपछि त्यति तलब हुन्छ भनेर भ्रममा पारियो । त्यसपछि महिलाका श्रीमानलाई खबर गरेर रकम पठाउन भनिएको रहेछ । श्रीमानले पनि रकम पठाइदिएछन्,” एसपी फुँयालले सुनाए । 

त्यसपछि महिलालाई क्लोज क्याम्पमा राखिएको छ भनेर घर परिवारसँग कुरा गर्न दिइएन । त्यसपछि महिलाको बीमा गर्नुपर्ने भन्दै थप रकम मागियो । तर, उनले आफू काम नगर्ने बरु स्वेदश नै फर्किने भनेर हारगुहार गर्न थालिन् । उनलाई भने सोही कम्पनीमा दास तुल्य बनाएर राखियो ।

महिलाले आफूलाई स्वदेश फर्किन्छु भन्दा अन्तिममा जसरी उनलाई भारत ल्याइयो त्यसरी नै उनले थप चार जना ल्याउनुपर्ने र त्यसो गरे मात्र जान पाइने बताइयो । प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित व्यक्ति र उक्त कम्पनीले महिलाको मोबाइल फोन खोसेर होस्टेलमा बन्धक बनाइ राखेको समेत खुलाको छ । 

यता वैदेशिक रोजगारीमा भएका महिलाका श्रीमानले विभिन्न निकायसँग पहल गरेर श्रीमतीलाई नेपाल फर्काए र जाहेरी दिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा आरोपित राई पक्राउ परेका छन् । यस घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नेटवर्किङ शैलीमा बेचबिखन भइरहेकाले यसमा अन्य थुप्रै व्यक्तिहरू संलग्न भएको हुनसक्ने एसपी फुँयालले सुनाए । “जो व्यक्ति पहिले पीडित भएका थिए उनीहरू नै यो अपराधमा लागेका छन्,” उनले भने, “त्यसैले नेटवर्किङ शैलीमा मौलाएको यो धन्धामा थुप्रै व्यक्ति फसेको अनुमान गरिएको छ ।”

पछिल्लो अध्यावधिक: फागुन २५, २०८० १२:५८