close

मोबाइल बैंकिङ एप ह्याक गर्न खोजेको आरोपमा पोखराबाट एक जना ह्याकर पक्राउ

टेकपाना टेकपाना

चैत १, २०८० १९:४६

मोबाइल बैंकिङ एप ह्याक गर्न खोजेको आरोपमा पोखराबाट एक जना ह्याकर पक्राउ

काठमाडौं । मोबाइल बैंकिङ एप ह्याक गर्न खोजेको आरोपमा साइबर ब्युरोले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नम्बर १४ स्थायी घर भई हाल कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने २६ वर्षीय नवराज लामिछाने रहेका छन् ।

ब्युरोले प्रदेश प्रहरी कार्यालय गण्डकी र जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई बुधबार पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट पक्राउ गरेको हो । "काठमाडौं स्थित वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीहरूमा अनधिकृत रूपमा पहुँच पुर्‍याउने मनसायले लामो समयदेखि निरन्तर प्रयास गरिरहेका...," ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको विवरणमा उल्लेख गरिएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले डिजिटल वालेट नभई बैंकिङ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउन खोजिएको बताए पनि थप विवरण खुलाउन नसकिने जनाए । कुन कुन बैंक तथा मोबाइल बैंकिङ एपमाथि ह्याकिङको प्रयास भएको भन्ने विषयमा भने प्रहरी उपरीक्षक अवस्थीले थप विवरण खुलाउन नसकिने उल्लेख गरे । प्रारम्भिक अनुसन्धानमा आरोपी लामिछानेले विभिन्न बैंकका कोर बैंकिङ सिस्टममा सयौं पटक आक्रमणको प्रयास गरेको समेत पाइएको ब्युरोले जनाएको छ ।

लामिछाने उपर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०८० १९:४६