close

युट्युब तथा ओटीटीमा चलचित्र रिलिज हुने बित्तिकै अलर्ट दिने अनलाइन प्लेटफर्म सार्वजनिक

टेकपाना टेकपाना

चैत ४, २०८० ११:२७

युट्युब तथा ओटीटीमा चलचित्र रिलिज हुने बित्तिकै अलर्ट दिने अनलाइन प्लेटफर्म सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र सम्बन्धी आवश्यक सम्पूर्ण जानकारी एकै स्थानबाट दिने उद्देश्यका साथ अनलाइन प्लेटफर्म द फिल्म नेपाल सार्वजनिक भएको छ । नेपालको सिनेमा क्षेत्रको प्रयोग र प्रवर्द्धनलाई रूपान्तरण गर्ने उद्देश्यका साथ द फिल्म नेपालले आफ्नो प्लेटफर्म विकास गरेको हो ।

युजर फ्रेण्ड्ली इन्टरफेस भएको द फिल्म नेपालमा नेपाली चलचित्र, कलाकार, निर्देशक र उद्योग क्षेत्रका समाचार लगायतका विभिन्न जानकारी पाउन सकिनेछ । यसका बाहेक प्रयोगकर्ताले आउँदै गरेका चलचित्रबारे थाहा पाउनुका साथै टेलर हेर्न र रिभ्यु पढ्न समेत पाउनेछन् ।

दर्शकले चाहेको चलचित्र फेला पार्न र हेर्न सहज होस् भन्ने हिसाबले युट्युब र अन्य लोकप्रिय ओटीटी प्लेटफर्ममा उपलब्ध नेपाली चलचित्रको व्यवस्थित सूची पनि द फिल्म नेपालले उपलब्ध गराउने बताइएको छ ।  

यसको एउटा मौलिक फिचर भनेको नोटिफिकेसन सर्भिस हो । जसले प्रयोगकर्तालाई युट्युब तथा अन्य ओटीटी प्लेटफर्ममा सार्वजनिक हुने नयाँ नेपाली चलचित्रको बारेमा अलर्ट पठाउनेछ । यसले दर्शकलाई पछिल्लो कुनै चलचित्र नछुटोस् भन्ने कुराको सुनिश्चितता दिलाउनेछ ।

त्यसैगरी प्रयोगकर्ताले कुनै पनि नेपाली चलचित्रलाई रेटिङ तथा रिभ्यु दिएर चलचित्र प्रेमीहरूलाई उत्साहित बनाउन समेत सक्नेछन् ।

नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द नेपाली फिल्मले चलचित्र निर्माताका लागि प्रवर्द्धनात्मक कार्य समेत गर्ने बताइएको छ । आधिकारिकता र विश्वसनीयतालाई प्राथमिकता दिन प्लेटफर्ममा कलाकारका लागि प्रोफाइल भेरिफिकेसन समेत उपलब्ध हुनेछ ।

आगामी दिनमा द फिल्म नेपालको प्लेटफर्मबाट मल्टिप्लेक्स सिनेमाजको शो टाइम तथा टिकेट बुकिङको सुविधा समेत थपिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८० १५:८