close

अनलाइन शपिङका नाममा नेपालीलाई ठगी गर्न चिनियाँ गिरोह सक्रिय, तीन जना पक्राउ

टेकपाना टेकपाना

चैत १८, २०८० २०:१

अनलाइन शपिङका नाममा नेपालीलाई ठगी गर्न चिनियाँ गिरोह सक्रिय, तीन जना पक्राउ

काठमाडौं । अनलाइन मार्फत विभिन्न बहानामा ठगी गरेको आरोपमा एक गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले शनिवार तीन जना चिनियाँ नागरिकलाई पर्साबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ३३ वर्षीय लियू गुई काई, २६ वर्षीय वाङ बोहन र ३६ वर्षीय सियाङ सियाओ रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका ती चिनियाँ नागरिक नेपालीलाई अनलाइन लट्री र अनलाइन शपिङका नाममा नेपाली र विदेशी नागरिकलाई प्रलोभनमा पार्थे । यसरी ठगी गर्ने गरेको भन्ने सूचना कार्यालयमा आएपछि प्रहरीको इन्टेलिजेन्स टिमले त्यस्ता गतिविधि सूक्ष्म रूपमा निगरानी गर्दै गयो । र, शनिवार दिउँसो ३ बजे वीरगञ्ज महानगरपालिका बस्ने नन्दु पटेलको घरमा ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । 

उनीहरूबाट १२० थान कम्प्युटर डेस्कटप सीपीयू, ११८ थान मनिटर, तीन ओटा पासपोर्ट, २५ ओटा मोबाइल, १३ थान भारतीय जिओ सिम कार्ड र चार थान ल्यापटप बरामद गरेको छ । त्यस्तै एउटा प्रिन्टर, विभिन्न बैंकका तीन ओटा एटीएम कार्ड, २६ थान किबोर्ड, पाँच ओटा इन्टरनेट स्वीच, दुई/दुई ओटा वाई-फाई राउटर र मिनि इन्भर्टर पनि बरामद गरिएको छ । 

त्यसैगरी उनीहरूबाट गाडी, मोटरसाइकल र विभिन्न देशका मुद्रा पनि बरामद गरिएको प्रहरीले जनाएको छ । आरोपित उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । 


 

पछिल्लो अध्यावधिक: चैत १८, २०८० २०:१