close

गाजामा बम खसाल्न यसरी इजरायलले गर्दै छ एआई प्रयोग

टेकपाना टेकपाना

चैत २३, २०८० १९:२०

गाजामा बम खसाल्न यसरी इजरायलले गर्दै छ एआई प्रयोग

काठमाडौं । इजरायली सेनाले गाजामा बम खसाल्ने क्षेत्र पत्ता लगाउन एआई प्रयोग गरिरहेको पाइएको छ । हमासले आक्रमण गरेपछि एआई प्रणाली नै विकास गरेर इजरायल युद्धमा उत्रिएको हो । 

इजरायली पत्रिका +९७२ म्यागेजिनका अनुसार इजरायली सैनिकले गाजामा बम खसाल्न 'ल्याभेन्डर' (Lavender) नामक प्रणाली विकास गरेको छ । यो प्रणाली ७ अक्टोबरमा हमासले हमला गरेपछि इजरायलले विकास गरेको सो पत्रिकाको दाबी छ ।

हालसम्म ल्याभेन्डरले गाजामा हमास लडाकु रहेको ३७ हजार स्थान मार्क गरेको र उनीहरूको हत्या गर्न अनुमति दिएको बताइन्छ । इजरायली सेनाले भने हमास सैनिकमाथि आक्रमण गर्न एआई प्रयोग गरेको विषय अस्वीकार गर्दै आएको छ । यद्यपि ल्याभेन्डर प्रणाली विकास भएको इजरायली सेनाका प्रवक्ताले सीएनएनसँगको अन्तर्वार्तामा स्वीकारेका छन् । 

उक्त प्रणाली निशाना विश्लेषण गर्ने टुल मात्र भएको सीएनएनलाई उनले बताएका छन् । त्यस्तै बमको लक्ष्य अन्तर्राष्ट्रिय कानून र इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नियम अनुसार छ/छैन भनेर स्वतन्त्र रूपमा जाँच गर्ने उद्देश्य अनुरूप उक्त प्रणाली विकास गरेको सेनाको भनाइ छ ।

यता इजरायली इन्टेलिजेन्स अधिकारीहरू (गोप्य स्रोत)लाई उदृत गर्दै बमबारी गर्नुअघि ल्याभेन्डरको लक्ष्यबारे जाँच नगर्नुपर्ने +९७२ ले उल्लेख गरेको छ । त्यस्तै कहिलेकाहीँ सैनिकहरूले लक्ष्य छनोटबारे केही नसोच्ने, बरु कतिपय अवस्थामा पुरुष संख्या हेर्ने र सो स्थानमा बम खसाल्ने गरेको +९७२ ले जिकिर गरेको छ ।

इजरायलले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद अपरेटिभहरूबारेको डेटा प्रयोग गरेर यस्तो शक्तिशाली सर्भिलियन्स एआई टुल विकास गरेको हो । विशेष गरेर गाजाको आन्तरिक सुरक्षा मन्त्रालयका कर्मचारीहरूको डेटा पनि यस टुलको डेटासेटमा राखिएको छ । यस्तै डेटाका आधारमा हमाससँग सम्बन्धित विभिन्न गतिविधि पत्ता लगाउन ल्याभेन्डरलाई तालिम दिइएकाे छ ।

यसको प्रमुख विशेषता भनेकै हमाससँग सम्बन्धित सबै गतिविधिहरूको पहिचान गर्नु हो । यसका लागि गाजामा रहेका प्यालेस्टिनीहरूलाई १ देखि १०० को बीचमा रहेर यस टुलले र्‍याङ्क गर्ने गर्छ ।

हमास गतिविधिसँग ती व्यक्ति कति नजिक छन् भन्ने आधारमा त्यो अङ्क दिइने गर्छ । यदि कोही व्यक्तिले पाएको नम्बर थ्रेसहोल्डबाट कटे उनीहरूमाथि बस बर्साउन इजरायली सैनिक तयार हुन्छन् । सो थ्रेसहोल्ड सधैं परिवर्तन भइरहने र सैनिक अधिकृतले चाहे अनुसार राख्न सक्ने +९७२ ले लेखेको छ ।

यसरी यो प्रणालीले गर्ने काम ९० प्रतिशत सही हुने गर्छ । यसको अर्थ यसले फेला पारेका १० प्रतिशत व्यक्ति हमास गतिविधिसँग सम्बन्धित हुँदैनन् ।

कतिपय अवस्थामा दोस्रो नाम (थर/उपनाम) हमाससँग जोडिकै अवस्थामा पनि यस प्रणालीले उक्त व्यक्तिलाई निसानामा राख्ने गर्छ । त्यस्ता गल्तीहरूलाई समेत इजरायली सैनिक अधिकृतहरूले वेवास्ता गरेको र प्रणालीले देखाएको नतिजा साँचो नभए पनि उनीहरूले ठीक मान्ने गरेको +९७२ ले जनाएको छ ।

यही प्रणालीमा आधारित भएर केही इजरायली अधिकारीहरूले नागरिकहरूलाई समेत निसानामा राख्न र उनीहरूमाथि बम बर्साउन सक्छन् ।

इजरायल-हमास युद्धको प्रारम्भिक समयताका तल्लो स्तरका हमास अधिकारी पहिचान गर्न इजरायली सैनिकले दैनिक १५ देखि २० नागरिकलाई निसाना राख्थे । यहीकारण माथिल्लो तहका हमास अधिकारीलाई पहिचान गर्ने नाममा इजरायलले सयौं सर्वसाधारणको हत्या गरेको बताइन्छ ।

त्यस्तै शंका गरिएका हमास संलग्न व्यक्ति पहिचान गर्न 'where's daddy' नामक प्रणाली पनि इजरायले प्रयोग गरिरहेको छ । यस प्रणाली पनि सोही ल्याभेन्डरमा आधारित छ ।

यसको काम उक्त व्यक्ति आफ्नो घर नपुगुन्जेल उसलाई ट्रयाक गर्नु हो । जब उक्त व्यक्ति घर पुग्छ, त्यसपछि सो स्थानमा इजरायलले बम खसाल्ने गर्छ । त्यसो गर्दा इजरायलले अन्य कुनै पनि विषय नसोच्ने +९७२ ले उल्लेख गरेको छ । तर कतिपय अवस्थामा शंका गरिएका व्यक्ति हमास नहुँदा निर्दोष परिवारको सर्वनाश हुने गरेको छ ।

इजरायल-हमास युद्ध छेडिएपछि इजरायलले यस प्रकारका प्रविधि आक्रमक तरिकाले विकास गरेको छ । प्यालेस्टिनीहरूको डेटाबेस बनाउन इजरायलले फेसियल रेकग्निसन प्रोग्राम सञ्चालन गरेकोबारे गत मार्चमा न्यू योर्क टाइम्सले समाचार लेखेको थियो । जसलाई हमासमा आबद्ध व्यक्ति पहिचान गर्न इजरायलले प्रयोग गरिरहेको बताइन्छ ।

यसको एउटा उदाहरण फेसियल रेकग्निसन प्रविधिबाटै इजरायलले प्यालेस्टिनी कवि मोसाब अबु तोहालाई हमास कार्यकर्ता मानेर पक्राउ गर्नु हो । इजरायलले अबु तोहालाई दुई दिनसम्म हिरासतमा राखेर उनी निर्दोष देखिएपछि मात्रै छाडेको थियो । 

युद्धका क्रममा इजरायलले प्रयोग गरेको अर्को नयाँ एआई टुल हो, द गोस्पाल । हमासले प्रयोग गर्ने भवनहरूको मार्क गर्न इजरायलले यो प्रविधि प्रयोग गर्ने गरेको छ ।

एआई प्रविधिमा आधारित द गोस्पालमा भर पर्दा गाजामा रहेका धेरै निर्दोष सर्वसाधारणले ज्यान गुमाएका छन् । सर्भिलियन्स प्रविधिमाथि इजरायलले आँखा चिम्लेर विश्वास गर्दा बिनाकारण सयौंले मृत्युवरण गर्नु परिरहेको हो ।

सुरक्षा मामलाका जानकारहरू इजरायलले हाल प्रयोग गरिरहेको सर्भिलियन्स प्रविधिको निकै विकसित रूप ल्याभेन्डर प्रणाली भएको बताउँछन् । इजरायलले यस प्रविधिलाई गाजा स्ट्रिप र वेस्ट बैंक जस्ता क्षेत्रमा सक्रिय गराएको अनुमान गरिएको छ । किनकी ती क्षेत्रमा हमास समूह सक्रिय रहेको इजरायलको अनुमान छ ।

इजरायलको यस प्रविधिबाट सशङ्कित भएको सुरक्षा मामलाका जानकार सुनाउँछन् । साथै इजरायली डिफेन्स स्टार्टअपले भविष्यमा यस प्रकारका प्रविधि निर्यात गर्न सक्ने र त्यसले थप सुरक्षा चिन्ता निम्त्याउने उनीहरूको तर्क छ ।

यसकारण युद्धताका अझ धेरै सर्वसाधारण बस्ने गाजा जस्तो ठाउँमा त्यस्ता 'मास सर्भिलियन्स' प्रविधि प्रयोग गर्दा निकै सतर्कता अपनाउनुपर्ने उनीहरू सुझाउँछन् । सकेसम्म त्यस्ता प्रविधिको निर्णयमाथि कदम चलाउनुअघि वास्तविकता जाँच गरेर मात्र पाइला चाल्नुपर्ने उनीहरूको सुझाव छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १९:२०