close

अब स्पोर्टिफाईमा एआईले नै तपाईंको रुचि अनुसारको प्लेलिस्ट तयार पारिदिने

टेकपाना टेकपाना

चैत २६, २०८० १७:५

अब स्पोर्टिफाईमा एआईले नै तपाईंको रुचि अनुसारको प्लेलिस्ट तयार पारिदिने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले अब स्पोर्टिफाई प्रयोगलाई पनि सहज बनाउने भएको छ। एआई डीजे सार्वजनिक गरेको कम्पनीले अहिले भने प्रयोगकर्ताका लागि एआईमार्फत व्यक्तिगत रुचि अनुरूपका प्लेलिस्ट तयार पार्ने सुविधा दिन लागेको हो ।

निश्चित प्रोम्ट (लिखित निर्देशन) प्रयोग गरेकै भरमा यस्ता प्ले लिस्ट तयार पार्न सकिने छ, जुन ईमोजी प्रयोग गरे जत्तिकै सहज हुने जनाइएको छ । कम्पनीका अनुसार स्पोर्टिफाईका प्रिमियम प्रयोगकर्ताले एआई प्लेलिस्ट तयार पार्ने प्रोम्ट प्रयोग गर्ने सुविधा प्राप्त गर्नेछन् ।

यो फिचर अहिले बेलायत र अस्ट्रेलियामा रहेका एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । हाल बेटा भर्सनमा रहेको एआई प्लेलिस्टले प्रयोगकर्तालाई भनेजस्तै प्लेलिस्ट तयार पार्न मौलिक किसिमको प्रोम्ट टाइप गर्न दिन्छ ।

एउटा ब्लग पोस्टमा स्ट्रिमिङ प्लेटफर्मले एआई टुलले केसम्म गर्न सक्छ भन्ने कुराका लागि केही उदाहरण समेत दिएको छ । यदि तपाईं बेलायत वा अस्ट्रेलियामा हुनुहुन्छ भने यो फिचर प्रयोग गरेर हेर्न सक्नु हुन्छ । यसका लागि स्पोटिफाई एपको तल दायाँ कुनामा रहेको योर लाइब्रेरीमा जानुहोस् र प्लस सङ्केतमा क्लिक गरी एआई प्लेलिस्ट छान्नुहोस् ।

अब त्यहाँ तपाईंले एउटा प्रोम्ट अथवा तपाईंको कुनै आफ्नो प्रोम्ट राख्न सक्नु हुन्छ । स्पोटिफाईका अनुसार यति गरिसकेपछि एआई टुलले तपाईंका लागि एउटा विशेष प्लेलिस्ट तयार पारिदिन्छ, जुन पछि गएर सम्पादन गर्न समेत सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: चैत २६, २०८० १७:५