close

इन्स्टाग्रामलाई टक्कर दिन टिकटकले ल्यायो फोटो शेयरिङ एप ‘टिकटक नोट्स’

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १५:१३

इन्स्टाग्रामलाई टक्कर दिन टिकटकले ल्यायो फोटो शेयरिङ एप ‘टिकटक नोट्स’

काठमाडौं । इन्स्टाग्रामसँग प्रतिस्पर्धा गर्न टिकटकले फोटो शेयरिङ एप ‘टिकटक नोट्स’ ल्याएको छ । पहिलो चरणमा अस्ट्रेलिया र क्यानडाबाट छानिएका आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि टिकटक नोट्स उपलब्ध भएको हो ।

फोटो शेयर गर्न मिल्ने उक्त एप अहिले एप्पलको एप स्टोर गुगल प्ले स्टोर दुवैमा लिस्टिङ भइसकेको छ । जसमा एप सम्बन्धी केही फोटोहरू राखिएका छन् । तिनबाट उक्त एप कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ । 

ती फोटो हेर्दा एपभित्र क्याप्सनसँगै फोटोको हेडलाइन राख्न सकिन्छ । अहिले यो फिचर इन्स्टाग्राममा भने उपलब्ध छैन । त्यस्तै यो एपको होम पेज दुई खण्डमा विभाजन भएको देख्न सकिन्छ ।

एकातिर 'फोर यु' पेज रहेको छ भने अर्कोतर्फ 'फलोइङ' । झट्ट हेर्दा एपको यस खालको इन्टरफेस पिनट्रेस्टको होम पेजसँग समान देखिन्छ । यी दुई खण्डमा तपाईंले टिकटकमा फलो गरेकै व्यक्तिको पोस्ट देखा पर्न सक्छ ।

यस्ता केही नयाँ फिचरबाहेक यो एप दुरुस्त इन्स्टाग्राम समान हुने बताइएको छ । हुन त सामाजिक सञ्जाल कम्पनीहरूले एकअर्काबाट फिचर नक्कल गर्नु सामान्य छ । जस्तो; इन्स्टाग्रामले रिल्सका लागि टिकटक र स्टोरीका लागि स्नापच्याटबाट फिचर नक्कल गरेको थियो । अहिले भने इन्स्टाग्रामको फिचर टिकटकले नक्कल गर्न लागेको हो ।

टिकटकले यसबारे केही समयअघि मात्रै प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत जानकारी दिएको थियो । यद्यपि अन्य देशमा कहिले यो एप रोलआउट हुन्छ भन्ने विषय अन्योल नै छ ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १५:१३