close

कर्मचारीले पासवर्ड भुल्दा दुई महिनादेखि निस्क्रिय हेलो सरकारको ट्वीटर (एक्स)

टेकपाना टेकपाना

बैशाख १०, २०८१ १३:१२

कर्मचारीले पासवर्ड भुल्दा दुई महिनादेखि निस्क्रिय हेलो सरकारको ट्वीटर (एक्स)

काठमाडौं । कर्मचारीले पावसर्ड भुल्दा हेलो सरकारको एक्स ह्यान्डल निस्क्रिय भएको छ ।  सर्वसाधारणले गुनासो राख्ने हेलो सरकारको ट्वीटरका रूपमा परिचित एक्स ह्यान्डल दुई महिनादेखि निस्क्रिय भएको हो । 

साढे दुई लाख बढी फलोअर भएको उक्त ह्यान्डलबाट दिनहुँ कुन माध्यमबाट कति गुनासो प्राप्त भए, कति गुनासो सम्बन्धित ठाउँमा पठाइए, कति गुनासो समाधान भइ फर्छ्यौट भएका थिए भन्ने विषयको जानकारी पोस्ट हुन्थ्यो । त्यसबाहेक सर्वसाधारणले एक्समा हेलो सरकारको ह्यान्डल मेन्सन गरेर गुनासो राख्थे । ती पोस्टहरूमा हेलो सरकारलेको सो ह्यान्डलबाट सम्बन्धित निकायलाई मेन्सन गरेर ध्यानाकर्षण गराउँथ्यो । तर, पासवर्ड बिर्सेर ह्यान्डलमा पहुँच नपाएपछि उक्त सेवा प्रभावित भएको हेलो सरकारका शाखा प्रमुख राजु खनालले बताए । 

“के भएर बन्द भएको रहेछ । अकाउन्ट रिकभरी भएको छैन,” टेकपानासँग कुरा गर्दै खनालले भने, “हामी रिकभरी गर्दैछौं । सायद एक दुई दिनमा रिकभर भइहाल्छ ।”

उनले भने, “पासवर्ड कसले चलाइरहनु भएको थियो, कसले युजरनेम पासवर्ड बिर्स्यो । मल्टिपल डिभाइसबाट लगइन भयो । त्यसमा सबै जनाले लगइन गर्नु पर्‍यो । मल्टिपल डिभाइसमा लगइन गर्दा टु फ्याक्टर अथेन्टिकेसन कोड हुने रहेछ । त्यो नराख्दा पहुँच गुम्यो ।” 

ह्यान्डल रिकभरीका लागि एक्सलाई पत्र पठाएको उनले सुनाए । त्यस्तै हेलो सरकारको सो ह्यान्डल सरकारी निकायसँग सम्बन्धित भएको भन्दै ग्रे मार्क (खैरो भेरिफिकेसन मार्क) का लागि आवेदन दिइएको खनालको भनाइ छ । 

पछिल्लो समय हेलो सरकारको फेसबुक पेज पनि निस्क्रिय जस्तै बनेको छ । त्यसमा मेसेजको रेस्पोन्स आउने भए पनि पोस्ट अपडेट हुन छाडेको छ । विशेषगरी नागरिकलाई सचेत बनाउने, कुनै विषयको जानकारी दिने सूचनाहरू त्यहाँबाट पोस्ट भइरहेका थिए ।

तर, पेज व्यवस्थापन गर्ने कर्मचारीको सरुवा भएपछि उक्त पेज केही समय निस्क्रिय रहेको खनालले स्वीकारे । “फेसबुक पेजमा समस्या होइन । फेसबुक पेज एकजनाले ह्यान्डल गरिरहनु भएको थियो । उहाँको सरुवा भयो । अनि एक जना व्यक्तिलाई हामीले यसरी यसरी चलाउनु भनेर हामीले सिकाएका छौं । त्यो अब पहिले जस्तो सक्रिय भएको छैन । त्यसलाई एक्टिभेट गर्न काम गरिरहेका छौं,” खनालले भने ।
 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८१ १४:१७