काठमाडौं । अहिले एआईको बजारमा एउटा रहस्यमयी च्याटबटको चर्चा चुलिएको छ । टुल शक्तिशाली हुनु र यसको निर्माताबारे केही नबताइनुले उक्त रहस्यमयी एआई च्याटबटले धेरैको ध्यान खिचेको हो ।
अहिले उक्त रहस्यमयी टुल 'जीपीटी २-च्याटबट' नामले चिनिएको छ । यो च्याटबट पहिलो पटक ‘च्याटबट एरेना’मा देखा परेको थियो । च्याटबट एरेना लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) को बेन्चमार्क परीक्षण गर्ने प्लेटफर्म हो । जहाँ यो रहस्यमयी टुलले सबै विकसित क्षमता प्रदर्शन गरेको छ । यो च्याटबटको क्षमता विद्यमान उत्कृष्ट एआई सिस्टमसँग समान रहेको बताइन्छ । यही समयमा साम अल्टम्यानले हाँकिरहेको ओपनएआईले जीपीटी फाइभमा काम गरिरहेको बताइन्छ । सोही कारण धेरैले ओपनएआई नै उक्त रहस्यमयी च्याटबटको निर्माता हुन सक्ने अनुमान पनि गरिरहेका छन् । अझ कतिपयले जीपीटी ४.५ को परीक्षण यो टुलबाट भइरहेको पनि बताइरहेका छन् । \
कसरी फैलियो यो टुलको जानकारी ?
अहिलेसम्म यो नयाँ च्याटबटको निर्माता अथवा यसको पृष्ठभूमिबारे केही खुलाइएको छैन । यो टुलबारे जानकारी पनि आधारिक स्रोतबाट नभई एक्स, रेडिट लगायतका सामाजिक सञ्जालबाट आएको हो ।
यसकारण पनि यो टुल यति रहस्यमय देखिएको हो । तर यो टुललाई आफ्नो निर्माताबारे सोध्दा ओपनएआई भएको बताउने गर्छ । जुन फेरि निकै रोमाञ्चक छ ।
जजसले यो टुल प्रयोग गरेका छन्, तिनैले यसको क्षमताबारे प्रशंसा गर्दा यसले यति धेरै चर्चा बटुल्न पुगेको हो । विशेष गरेर उनीहरूले टुलको तार्किक, गणितीय, कोडिङ लगायतका क्षमताबारे खुलेर प्रशंसा गरेका छन्। यति मात्र नभइ ती सबैमा यो टुलले जीपीटी ४ बराबरको क्षमता प्रदर्शन गरेको र कतिपय अवस्थामा त्यो भन्दा पनि राम्रो गरेको बताइएको छ1 ।
त्यस्तै स्ट्यानफोर्ड युनिभर्सिटीका एआई अनुसन्धानकर्ता एन्ड्रयु गाओले यो टुलले 'इन्टरनेसनल म्याथ ओलम्पियाड'को समस्या समाधान गरेको दाबी गरेका छन् । गाओ जस्तै यस क्षत्रका अन्य थुप्रै प्रोफेसनलले यो टुलको राम्रै प्रचार गरेका छन् ।
यो सूचीमा साम अल्टम्यान पनि छन् । उनले आफ्नो एक्स अकाउन्टमा 'आफूलाई जीपीटी २ मन परेको' बताएका छन् । उनको उक्त पोस्टले यो टुल ओपनएआईकै भएको हुन सक्ने अनुमानलाई थप बल मिलेको हो ।
हुन त विभिन्न समयमा प्रविधिलाई लिएर अनेकौं हल्ला चल्ने गर्छन् । यो रहस्यमयी एआई टुलको सन्दर्भमा पनि त्यही भएको हुन सक्छ ।