close

अनलाइनबाट आफ्ना नग्न फोटो/भिडिओ पठाउने गर्नु हुन्छ ? सुरक्षित रहन थाहा पाइराख्नुहोस् यी टिप्स*

टेकपाना टेकपाना

बैशाख ३१, २०८१ १२:२

अनलाइनबाट आफ्ना नग्न फोटो/भिडिओ पठाउने गर्नु हुन्छ ? सुरक्षित रहन थाहा पाइराख्नुहोस् यी टिप्स*

काठमाडौं । नेपालमा साइबर अपराधको ग्राफ उकालो लागिरहेको छ । त्यसमा पनि अरूका नग्न फोटो अनलाइनमा राखेर चरित्र हत्या गर्ने प्रवृत्ति मौलाउन थालेको छ । साइबर ब्युरोमा पर्ने उजुरी हेर्ने हो भने यसखाले प्रवृत्ति कतिसम्म मौलाएको छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ । 

गत साउनमा प्रेमिकाको नग्न भिडिओ पोर्न साइटमा राख्ने एक पुरुषलाई इन्टरपोलको सहयोगमा मलेसियाबाट पक्राउ गरिएको थियो । केही अघि सेना र प्रहरीमा जागिर मिलाइदिने भन्दै फेसबुकमा नग्न फोटो मागेर ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ परेका थिए । अनि हालै मात्र सम्बन्ध बिग्रिएपछि आफ्नै श्रीमतीको नग्न फोटो/भिडिओ अनलाइनमा पोस्ट गर्ने श्रीमान् पक्राउ परेको घटना अझै सेलाइसकेको छैन ।

यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । प्रहरीसम्म उजुरी दिन नपुगेका अथवा लाज/इज्जतका कारण गुपचुप बसेका पीडितहरू कति छन्, कति, त्यसको लेखाजोखा नै छैन । विशेष गरी विभिन्न सामाजिक सञ्जालको उदयसँगै सम्बन्धमा रहेकाहरूले खुलेरै अन्तरङ्ग फोटो/भिडिओ पठाउने गरेको पाइन्छ । कतिपय बाध्यतामा परेर र केही भने पार्टनर वा साथीहरूको आग्रह, चाहना वा दबाबका कारण आफ्ना नग्न फोटो/भिडिओ पठाइरहेका हुन्छन् ।

त्यस्ता फोटो भिडिओ रेकर्ड गरेर पठाउनेमात्र होइन, लाइभ भिडिओ कलमै उत्तेजना शान्त पार्नेहरू पनि हुन्छन् । त्यस्ता फोटो/भिडिओ उनीहरू बिच सीमित भए त ठिकै हो, तर पछिल्लो समय त्यस्ता सामग्री लिक हुने वा दुरुपयोग गर्ने क्रम पनि बढिरहेको छ ।

बाध्यतामा परेर अथवा कहिलेकाहीँ आफ्नै रुचि चाहनाका कारण पनि तपाईंले नग्न फोटो तथा भिडिओ लिनु भएको हुन सक्छ । नग्न फोटो आफूले नचाहेको ठाउँमा नपुगोस् भनेर सुनिश्चित गर्ने सबैभन्दा राम्रो तरिका नग्न फोटो नै नखिच्नु हो, जसरी गर्भावस्था वा यौनरोगबाट बच्ने तरिका कहिल्यै पनि यौन सम्पर्क नगर्नु हो । 

यस लेखमा हामी नग्न फोटो/भिडिओको अनलाइनमा दुरुपयोग हुनबाट कसरी जोगिने भनेर टिप्स दिंदै छौं । 

 

पाउने व्यक्ति विश्वासिलो हुनु पर्छ

मानौं तपाईं आफैं राजी भएर पूर्णरूपमा विश्वास गरेको व्यक्तिलाई मात्र आफ्नो नग्न फोटो वा भिडियोहरू पठाउनु हुन्छ र अन्यलाई नजाओस् भन्ने चाहनु हुन्छ । तर यसो गर्दा पनि सोच्नु पर्ने कुरा धेरै हुन्छन् । जस्तो: तपाईंले फोटो/भिडिओ पठाउने व्यक्तिले अरू कसैलाई ती फोटो तथा भिडिओ पठाइदिन सक्छ । भिडिओ कलमा नग्नता आदान प्रदान गर्दा रेकर्ड भएर बस्दैन वा अर्कोतर्फ रहेको पार्टनरले तपाईंको भिडिओ कल रेकर्ड गरेको छैन भनेर ढुक्क हुन पनि सकिंदैन ।

तपाईंले सहमति जनाए भन्दा लामो समयसम्म उसले त्यस्ता फोटो/भिडिओ आफूसँग लुकाएर राख्न सक्छ । अथवा तपाईंहरूबिचको विश्वास नै टुट्ने अवस्थामा आउँदा पनि तपाईंका ती फोटो भिडिओ अर्को व्यक्तिको साथमा रहेका हुन सक्छन् ।

अझ त्यसमाथि कोही विश्वासयोग्य छ भनेर निश्चिन्त हुनु निकै गाह्रो काम हो । अनलाइनमा कोही विश्वासयोग्य भए/नभएको थाहा पाउने केही तरिकाबारेमा पनि केही कुरा गरौं;

  • चिनजान भएको केही समय मात्र हुनु

यदि तपाईंहरूको चिनजान भएको केही समय मात्र भएको छ । अनि उसलाई नग्न फोटो/भिडिओ पठाउन तयार हुनुहुन्छ भने तपाईंले सतर्कता अपनाउनु पर्ने हुन्छ । किनकी छोटो भेटमा तपाईंले उसलाई खासै चिन्नु भएको हुँदैन । यसकारण पर्खिनु नै राम्रो उपाय  हुन्छ ।

  • असहज हुने गरी दबाब दिनु

यदि तपाईं आफ्नो नग्न फोटो वा भिडिओ खिच्न सहज मान्नुहुन्न । तर तपाईंको पार्टनरले लगातार रूपमा त्यसका लागि दबाद दिइरहेको छ भने त्यो सतर्क हुने अवस्था हो । किनकी यहाँनिर उसले तपाईंको आफ्नो सीमालाई  कत्ति पनि सम्मान गरिरहेको छैन । यो तपाईंका लागि खतराको सङ्केत हो । 

  • व्यक्तिगत वा व्यावसायिक प्रतिष्ठालाई हानि पुग्नु

नग्न फोटो/भिडिओ बाहिरिदा तपाईंले काम गर्ने क्षेत्र वा समुदायका आधारमा तपाईंलाई असर पर्ने गर्छ । त्यस्ता केही समूह हुन्छन्, जसमा उनीहरूले अपरिचितहरूसँग निर्धक्क आफ्ना अन्तरङ्ग फोटो शेयर गर्न सक्छन् । तपाईं त्यही समूहबाट हुनुहुन्छ भन्ने छैन ।

यदि तपाईंलाई आफ्नो काम, परिवार वा साथीहरू प्रभावित हुन सक्छन् भन्ने जस्तो लाग्छ भने विश्वासिलो पार्टनर नै भए पनि तपाईंले आफ्नो नग्न फोटो/भिडिओ शेयर गर्नुहुन्न ।

जे भए पनि आफ्ना फोटो/भिडिओ शेयर गर्ने मामिलामा तपाईंले सकभर ‘हुँदैन’ भन्न सक्नुपर्छ, चाहे ती सामान्य हुन् वा अन्तरङ्ग । यदि तपाईंलाई आफ्नो फोटो पार्टनरले अनलाइनमा शेयर गरेको मन पर्दैन अथवा कतै पनि सेभ गरेको मन पर्दैन भने तिनलाई डिलिट गर्ने विषयमा तपाईंले पार्टनरसँग कुरा गर्न सक्नुपर्छ । यदि पार्टनरले यसमा जबरजस्ती गर्न खोज्छ भने तपाईं अलि चलाक हुनु पर्छ । यस्तोमा नजिकैको प्रहरी कार्यालयमा रहेको महिला सेलको सहयोग पनि लिन सक्नु हुन्छ ।

 

फोटो/भिडिओ क्रप गर्नु अथवा त्यसबाट परिचय लुकाउनु

मानौं, आफ्नो पार्टनरसँग तपाईं निकै ढुक्क हुनुहुन्छ । तर पार्टनरको केही गल्ती नहुँदा पनि तपाईंका फोटो बाहिरिने जोखिम उत्तिकै हुन्छ । तपाईं वा तपाईंको पार्टनरको फोन ह्याक हुन सक्छ, डिभाइस ओपन नै हुन सक्छ अथवा विश्वासयोग्य मानिएको पार्टनर धोकेबाज भएर निस्कन सक्छ ।

यसकारण यदि त्यस्ता फोटो छन् भने तिनमा सकेसम्म आफ्नो पहिचान कम गर्नु पर्छ । यसले तपाईंलाई पुग्नसक्ने हानी न्यूनीकरणमा सहयोग पुग्छ । फोटो क्रप गर्ने, अनुहार ब्लर गर्ने, ब्याकग्राउन्डमा भएका अरूले चिन्न सक्ने भाग हटाउने, ट्याटु/कोठी जस्ता सजिलै चिन्न सकिने भाग लुकाउने काम तपाईंले गर्न सक्नुहुन्छ । 

त्यस्तै आफ्नो पहिचान हुन सक्ने विभिन्न डेटालाई पनि तपाईंले मेटाउनु पर्छ । जस्तैं: धेरै स्मार्टफोनले फोटो खिच्दा लोकेसनको विवरण पनि भण्डारण गरिरहेका हुन्छन् । जुन तपाईंले टर्न अफ गर्नु पर्छ । त्यस्तै फोटोमा एक्सचेन्जेबल इमेज फाइल फर्म्याट (आईएक्सआईएफ) डेटा जस्ता इम्बेडेड सूचना पनि हुन्छन् । कसैलाई फोटो पठाउन अघि त्यस्ता डेटा तपाईंले हटाउनु पर्छ । ताकि कहाँ, कहिले र कसरी फोटो खिचेको भन्ने सूचना अरूले थाहा नपाउन् ।

 

क्लाउड ब्याकअप बन्द गर्नु 

आफ्ना त्यस्ता फोटो कहाँ राख्ने भन्ने निर्णय तपाईं आफैंले लिन सक्नुपर्छ । डेस्कटप, ट्याबलेट, क्लाउडमा राख्दा केही फोनमा अटो ब्याकअप छ भने कुनै समय तपाईंलाई गाह्रो पर्न सक्छ । किनकी ब्याकअप हुने कुरा तपाईंले बिर्सन सक्नुहुन्छ । तर भविष्यमा कसैले तिनलाई भेटेर गलत प्रयोग गरिदिन सक्छन् । 

यस्तो घटना हुन नदिन तपाईंले ब्याकअप बन्द गर्नु अथवा ब्याकअप नै नहुने एप प्रयोग गर्नु पर्छ । स्नापच्याटको आफ्नै क्लाउड ब्याकअप छ । तर त्यसमा खिचिने फोटो गुगल फोटोजमा ब्याकअप हुँदैनन् ।

त्यस्तै फोटोलाई सुरक्षित गर्न गुगलको लक्ड फोल्डर र एप्पलको हिडन एल्बम पनि विकल्प हुन सक्छन् । यस प्रकारका एप प्रयोग तरेर तपाईंले अरूको पहुँचमा त्यस्ता फोटो पुग्नबाट बचाउन सक्नुहुन्छ । यसका साथै एसडी कार्ड वा यूएसबी ड्राइभ पनि प्रयोग गर्न सक्नुहुन्छ ।

 

सेक्योर मेसेजिङ एपको प्रयोग गर्नु

आफ्नो नग्न फोटो फोनमा राख्नुभएको छ भने कसले हेर्न सक्छन् भन्ने कुरा तपाईंको हातमा नहुन सक्छ । तपाईंले कुनै पनि सर्भरमा अस्थायी रूपमा (वा स्थायी) भण्डारण गरेका ती फोटो/भिडिओ कुनै पनि बेला लिक हुन, बाहिरिन वा चोरी हुन सक्ने सम्भावना उत्तिकै हुन्छ । 

अझ तपाईंले इन्क्रिप्सन लागु नभएका प्लेटफर्ममा राख्नु भएको छ भने झनै यस्तो जोखिम उच्च हुन्छ । टेलिग्राम, सिग्नल अनिवार्य रूपमा इन्क्रिप्सन लागु गरिएका मेसेजिङ एप हुन् । अहिले मेसेन्जर र ह्वाट्सएपमा पनि इन्क्रिप्सन लागु गरिएको छ । 

यस्ता एपले कुनै पनि मेसेज वा फोटोलाई इन्क्रिप्ट गरिदिन्छन्। अर्थात् सरल भाषामा बुझ्दा ती मेसेज अथवा फोटो सुरक्षितसँग डेलिभर हुन्छन् ।  जुन तपाईं र पाउने व्यक्तिले मात्र हेर्न पाउनुहुन्छ । यति भन्दै गर्दा पाउने व्यक्तिको मनस्थितिलाई कसैले केही गर्न सक्दैन । 

उसले उक्त फोटो स्क्रिनशट गरेर अथवा डाउनलोड गरेर राख्न सक्छ । जुन पछि अनलाइनमा लिक हुन सक्छन् । यसकारण पुन: सम्झनु पर्ने कुरा एकदमै विश्वासिलो मान्छेलाई मात्र त्यस्ता मेसेज पठाउनु उचित हुन्छ । 

 

फोन लक गर्नु र रिमोट टुल सेट अप गर्नु 

जतिसुकै सतर्कता अपनाउँदा पनि कहिलेकाहीँ सानो हेलचेक्र्याइँले गल्ती हुन जान्छ । यो कुरा यस मामिलामा पनि लागु हुन्छ । तपाईंका त्यस्ता फोटो आफ्नै घर भित्रबाट पनि बाहिरिन सक्छन् । यदि तपाईंले फोनमा लक राख्नु भएको छैन र फोनमा त्यस्ता फोटो छन् भने परिवारको कुनै सदस्यले जान-अनजानमा गल्ती गर्न सक्छ । 

यस्तो हुनबाट बच्ने सबैभन्दा राम्रो तरिका फोनमा लक राख्नु हो । तपाईंले पिन, पासवर्ड, फिङ्गरप्रिन्ट, फेस आईडी, प्याटर्न मध्ये कुनै एक लक राख्न सक्नुहुन्छ । अझ फोन भित्र लक गरिएका एप/फोल्डरमा त्यस्ता फोटो राख्नु भयो भने झनै सुरक्षित हुन्छ । किनकी अरूले फोनको लक खोलिदिन सक्छन् ।

त्यस्तै फोनमा रिमोट टुल सेटअप गर्नु पनि राम्रो विकल्प हो । आईओएस र एन्ड्रोइड दुवैमा हराएको फोन जीपीएसका माध्यमबाट फेला पार्ने, तिनलाई लक गर्ने र डेटा डिलिट गर्ने फिचर छ । यदि फोन कतै छाड्नु भयो अथवा हरायो भने यो फिचर उपयोगी हुन सक्छ । साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थी यस किसिमका उजुरीहरू साइबर ब्युरोमा आउने क्रम बढेको बताउँछन् । "यस्ता घटनालाई हामीले रिभेञ्ज पोर्नको रूपमा लिने गरेका छौं," उनी भन्छन्, "आपसी सम्बन्ध जे जस्तो भए यस्ता घटनाबाट बच्न नग्न फोटो तथा भिडिओ खिच्नै हुँदैन भन्ने हो ।"

नोट: यो सामग्री जनचेतना र साइबर सुरक्षा सचेतनाका लागि मात्र लेखिएको हो । आफ्नो इज्जत जोगाउन तथा नग्न फोटो तथा भिडिओ लिक हुने जोखिमबाट बच्न त्यस्ता फोटो तथा भिडिओ नखिच्न र भिडिओ कलमा नग्नता आदान प्रदान नगर्न सल्लाह छ । 

*समाचार शिर्षक परिवर्तन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८१ १३:१०