काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानी दुई अर्ब ३७ लाख सात हजार रुपैयाँले घटेको छ । सोमबार सार्वजनिक कम्पनीको वित्तीय प्रतिवेदनमा चालु आर्थिक वर्षको सुरुवाति नौ महिनामै कम्पनीको कूल आम्दानीमा भारी गिरावट देखिएको हो ।
प्रतिवेदन अनुसार चैत मसान्त २०७९ सम्मको नौ महिनामा कम्पनीको कूल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार मात्र रहेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कूल आम्दानी ३३ अर् ब२० करोड ८५ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
यस हिसाबले चालु आर्थिक वर्षको सुरुवाति नौ महिनामा कम्पनीको कूल आय ५.०३ प्रतिशतले कमी आएको देखिन्छ । मूलतः कम्पनीले ग्राहकलाई सेवा बिक्री गरी प्राप्त हुने आम्दानी नै ओरालो लागेको प्रतिवेदनमा देखिन्छ । गत आवको सुरु नौ महिनामा २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन आय चालु आवको सोही अवधिमा एक अर्ब ८६ करोड ५३ लाख ५८ हजारले कमी आउँदा २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको कूल आम्दानी घटेको भए पनि समग्र रूपमा मुनाफा भने केही मात्रामा बढेको छ । गत आवको सुरु नौ महिनाको दाँजोमा यस आवको सोही अवधिमा कम्पनीको मुनाफा १८ करोड १७ लाख ९३ हजार रुपैयाँले बढेर पाँच अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
रोकिएन सञ्चालन घाटा
टेलिकमको सञ्चालन घाटाले भने निरन्तरता पाएको छ । गत आवको तेस्रो त्रैमासिक अवधिसम्म ४४ करोड ९९ लाख ४३ हजार रुपैयाँ रहेको टेलिकमको सञ्चालन घाटामा यस वर्षको सोही अवधिसम्म आइपुग्दा केही मात्राले कमी भने आएको छ । प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीले १२ करोड ९८ लाख एक हजार रुपैयाँ सञ्चालन घाटा ब्यहोरेको छ ।
किन घट्यो कम्पनीको आम्दानी ?
टेलिकमले ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आबद्धता आयमा गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा यसपालिको सोही अवधिमा ९४ करोड ४९ लाख २९ हजारले कमी आएको जनाएको छ । त्यस्तै बढी लागत तथा कम प्रतिफल हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढी रहेको बताइएको छ ।
यस बाहेक सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको टेलिकमको भनाई छ । कम्पनीले सञ्चालन आयबाट भन्दा पनि बैंक ब्याजबाट आफ्नो मुनाफा कायम गर्दै आइरहेको छ ।
तर बैंक ब्याजदरमा परिवर्तन हुँदा यस वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीको वित्तीय आम्दानी करिब ५० करोड ७४ लाख रुपैयाँले कमी आएको छ ।