close

ह्याप्पी बर्थ डे मार्क जुकरबर्ग !

टेकपाना टेकपाना

जेठ १, २०८१ १४:५२

ह्याप्पी बर्थ डे मार्क जुकरबर्ग !

काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता चर्चित सामाजिक सञ्जाल पछाडिका नायक हुन्, मार्क जुकरबर्ग । उनी १९ वर्षका हुँदा सन् २००४ मा सुरु भएको फेसबुकका कारण जुकरबर्ग विश्वचर्चित मात्र बनेनन्, विश्वका ठूला धनाढ्यसमेत बने । यसका साथै सञ्चार र अन्तर्क्रियामा एक प्रकारको क्रान्ति ल्याए । 

हार्वर्ड विश्वविद्यालयमा हुँदा एड्वार्डो साभेरिन, एन्ड्रियु म्याककोलुम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्ससँग मिलेर जुकरबर्गले २००४ मा फेसबुक (द फेसबुक) खोलेका थिए । धेरैको जनजीवनमा प्रभाव पार्न सफल उनै जुकरबर्ग आज आफ्नाे ४०औं  जन्मदिन मनाउँदै छन् ।

उनी सन् १९८४ मा अमेरिकाको न्यू योर्कमा जन्मिएका थिए । आज परेको जन्मदिन उनले विशेष तरिकाले मनाउँदैछन् । मेटा प्लेटफर्म इन्क (साबिक फेसबुक)का प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा रहेका उनले आफ्नो जन्मदिन नयाँ सुपरयाटमा (superyacht) मनाउने छन् । 

आज उनको जन्मदिनसँगै उक्त याट पनि महत्त्वपूर्ण छ । किनकी ४०औं जन्मदिनमा उनले यो याट आफ्नो लागि लिएका हुन् । लञ्चप्याड नाम भएको उक्त सुपरयाट अहिले पानामामा अवस्थित छ । यो याट फ्लोरिडाको फोर्ट लाउडरडेलबाट एट्लान्टिक समुद्र हुँदै पछि पानामामा आइपुगेको हो । 

यस सुपरयाटको इतिहास पनि उस्तै रोचक छ । यसको निर्माण डच शिपयार्ड फेडशिप नेदरल्यान्डले एक रुसी व्यापारीका लागि गरेका थिए । पछि भने यो याट डच सरकारलाई हस्तान्तरण गरिएको थियो । अहिले जुकरबर्गले यो याट कोबाट कतिमा खरिद गरे भन्ने अज्ञात नै रहेको छ । तर यसको मूल्य लाखौं डलरको हुनसक्ने र मर्मतखर्च पनि उस्तै हुने अनुमान गरिएको छ । 

यस ११८ मिटर लामो याट निकै आधुनिक रहेको छ । यसमा हेलिप्याड, स्विमिङ पूल, जिम, स्पा, मुभि रुम, ग्यारेज जस्ता खण्ड रहेका छन् । केही महिनाअघिसम्म यो याट जुकरबर्गको हो/होइन भन्ने अन्योल थियो । किनकि याटका मालिकबारे निकै गोपनीयता कायम गर्ने गरिन्छ । 

तर गत डिसेम्बरदेखि नै यस लन्चप्याडसँग जुकरबर्गको नाम जोडिएको थियो । त्यसबेला ईसिस्टम सुपरयाटअटोइभोलुसन जस्ता याटिङ ब्लगरहरूले आधिकारिक रूपमा उनले याट खरिद गरेको दाबी गरेका थिए । तर जुकरबर्गले अहिलेसम्म यसबारे आधिकारिक जानकारी कतै दिएका छैनन् । 

यद्यपि हिजो सोमबार जुकरबर्ग आफ्नो विमानबाट पानामा गएका थिए । यसको जानकारी भने उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट दिएका छन् । यसले उनी त्यहाँ याटमा जन्मदिन मनाउन गएको बुझ्न सकिन्छ । जे भए पनि, अहिले विश्वका चौंथो धनी व्यक्ति समेत रहेका जुकरबर्गले आफ्नो ‍४०औं जन्मदिनलाई विशेष बनाउने निश्चित छ । 

पछिल्लो समयमा उनले मेटाभर्सलाई मूर्तरुप दिन लागि परेका छन् । तीन सन्तानका बाबु रहेका उनी पछिल्लो समयमा सामाजिक कार्यमा पनि उत्तिकै देखिन थालेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १५:१०