१८ वर्षदेखि ऐनमा परिवर्तन नहुनु दूरसञ्चार क्षेत्रलाई विष जस्तै भएको छः पुडासैनी
जेठ ४, २०८१ १४:३८
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष सुरेश पुडासैनीले १८ वर्षदेखि दूरसञ्चार ऐन परिमार्जन नहुनु यस क्षेत्रका लागि विष सरह भएको अभिव्यक्ति दिएका छन् । शुक्रवार विश्व दूरसञ्चार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै पुडासैनीले समयसँगै दूरसञ्चार ऐन परिमार्जन हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका हुन् ।
आफू प्राधिकरणको दोस्रो अध्यक्ष भएको बेला नै ऐन परिमार्जनका लागि प्रक्रिया अघि बढाए पनि आजसम्म पनि कुनै उपलब्धि नभएको उनको गुनासो छ । आजको बजारको अवस्था अनुसार पुरानो ऐनले सम्बोधन गर्न नसक्ने हुँदा यसलाई चाँडोभन्दा चाँडो परिमार्जन गरी समयअनुसार बनाउनु पर्नेमा उनले जोड दिए ।
यदि समयमा ऐन परिमार्जन हुन नसक्ने हो भने पुरानो ऐन नै यो क्षेत्रको लागि विष सावित हुने उनले सुनाए । आफ्नो कार्यकालमा ३५ वर्षभन्दा बढीको अनुभव भएका चार जना विज्ञ भए पनि अहिलेको समयमा दूरसञ्चार प्राधिकरणमा पर्याप्त विज्ञको अभाव खड्किएको उनले विश्लेषण गरे ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८१ १४:३८
