close

नेपाली युवाले बनाए शर्ट यूआरएल टुल, स्मार्ट क्यूआरसँगै थुप्रै लिङ्कलाई एउटै बनाउन पनि मिल्ने

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ १४, २०८१ १४:३१

नेपाली युवाले बनाए शर्ट यूआरएल टुल, स्मार्ट क्यूआरसँगै थुप्रै लिङ्कलाई एउटै बनाउन पनि मिल्ने

काठमाडौं । हामीले प्रयोग गर्ने अधिकांश लिङ्क लामा हुन्छन् । सामाजिक सञ्जाल प्रोफाइलदेखि विभिन्न वेबसाइटमा प्रकाशित हुने समाचार, ब्लग वा लेखको लिङ्क दिनहुँ जसो आदान प्रदान गरिरहेका हुन्छौं । कपी गरेर पठाउँदा यस्ता लामा लिङ्कले खासै समस्या त निम्त्याउँदैन ।

तर, अर्को व्यक्तिले लिङ्क नै आफ्नो ब्राउजरमा टाइप गर्नुपर्‍यो भने त्यसले निकै समय बर्बाद हुन्छ । र, केहीगरी बीचको कुनै क्यारेक्टर छुट्यो भने त्यति समय लगाएर टाइप गरेको लिङ्क यत्तिकै खेर जान्छ ।

उदाहरणका लागि टेकपानामा प्रकाशित कुनै समाचार फेसबुकमा फेला पारेर क्लिक गर्नुभयो भने त्यसको लिङ्क तलको जस्तो देखिन्छ ।

तर, यो लिङ्क सबै टाइप गरेर साध्य हुँदैन । त्यसैले यो लिङ्कलाई छोटो बनाउनु पर्ने हुन्छ । त्यसो गर्दा निम्न अनुसार देखिन्छ;

https://tny.ws/e5dcvj

यस्तो सहजताका लागि लिङ्क छोटो बनाउने थुप्रै प्लेटफर्महरू बनेका छन् । त्यस्ता प्लेटफर्मले लिङ्क छोटो बनाउनेदेखि अन्य थुप्रै सुविधा दिएका हुन्छन् । आज हामी त्यही सुविधा दिने नेपाली प्लेटफर्मको चर्चा गर्दैछौं । 

 

टीएनवाई डट डब्लू एस

टीएनवाई डट डब्लूएस (tny.ws) नेपाली युवा सन्तोष अर्यालले विकास गरेको प्लेटफर्म हो । यसको मुख्य विशेषता नै लिङ्क छोटो बनाउनु हो । यसबाट कुनै पनि लिङ्कलाई छोटो बनाउनका लागि निम्न प्रक्रिया अपनाउनु पर्ने हुन्छ । 

  • सबैभन्दा पहिला tny.ws वेबसाइटमा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् । 

  • त्यसपछि त्यहाँ लिङ्क पेस्ट गर्ने बक्स खुल्छ । सो बक्समा आफूले कपी गरेको लिङ्क पेस्ट गर्नुहोस् । 

  • त्यसपछि इन्टर थिच्नुभयो भने लिङ्क छोटो भएर आउँछ । सो लिङ्कलाई आफ्नो आवश्यकता अनुसार विभिन्न प्रयोजनमा प्रयोग गर्न सक्नु हुन्छ । 

तपाईंले तयार पारेको यस्तो छोटो लिङ्कलाई क्यूआर कोडमा पनि परिणत गर्न सकिन्छ । त्यसका लागि नयाँ लिङ्क तयार भएको अप्सनको छेउमा क्यूआर कोड बनाउने बटन देखिन्छ । त्यसैमा ट्याप गरेर क्यूआर कोड बनाउन सकिन्छ । यसबाट असीमित लिङ्कहरू तयार पार्न सकिन्छ । “अरू प्लेटफर्ममा सीमित समयमा सीमित लिङ्क तयार पार्ने सेवा दिइएको हुन्छ,” अर्यालले भने, “तर, हाम्रोमा निःशुल्क जति पनि लिङ्क तयार पार्न सकिन्छ ।”

 

लिङ्क एउटै, तर खोल्दा डिभाइस अनुसार फरक

एउटै एपले फरक फरक अपरेटिङ सिस्टम (एन्ड्रोइड र आईओएस) मा काम गर्दैन । अर्थात एन्ड्रोइडका लागि तयार पारेर प्लेस्टोरमा राखिएको एप आईओएस प्रयोगकर्ताले प्रयोग गर्न पाउँदैन । त्यसैले एप स्टोरका लागि छुट्टै एप तयार पार्नुपर्ने हुन्छ ।

कुनै पनि कम्पनीले आफ्ना एपलाई सबै प्रयोगकर्तामाझ पुर्‍याउन फरक फरक सिस्टममा एप राखेका हुन्छन् । त्यस्तोमा आईओएसका लागि एउटा, एन्ड्रोइडका लागि अर्को र वेबसाइटका लागि छुट्टै लिङ्क उपलब्ध गराउनु पर्ने हुन्छ । त्यस्तोमा एउटै लिङ्कमा क्लिक गर्दा वा एउटै क्यूआर कोड स्क्यान गर्दा आफ्नो डिभाइसले सपोर्ट गर्ने प्लेटफर्ममा पुगेर एप डाउनलोड गर्ने सुविधा चाहिन्छ । टीएनवाईले प्रयोगकर्तालाई यही सुविधा उपलब्ध गराउँछ ।

“एप डेभलपर वा अन्य प्रयोगकर्ताले दुई फरक लिङ्कलाई एउटै लिङ्कमा समेट्न चाहेमा हाम्रो प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ,” अर्याल भन्छन्, “उदाहरणका लागि कुनै व्यक्तिसँग एपस्टोरको एप र प्ले स्टोरको एपको छुट्टाछुट्टै लिङ्क छ । अब एउटै लिङ्क क्लिक गर्दा वा क्यूआर कोड स्क्यान गर्दा एन्ड्रोइड प्रयोगकर्ता प्लेस्टोरमा पुग्ने र आईओएस प्रयोगकर्ता एपस्टोरमा पुग्ने सुविधाका लागि हाम्रो प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।”

उदाहरणका लागि तपाईंले यहाँ क्लिक गर्नु भयो भने एन्ड्रोइडबाट खोल्दा गुगल प्ले स्टोरमा रहेको टेकपानाको एप, आईफोनबाट खोल्दा टेकपानाको आईओएस एप र अन्यबाट खोल्दा टेकपानाको वेबसाइटमा पुग्न सक्नु हुन्छ । यही लिङ्कलाई तपाईंले क्यूआरको रूपमा समेत राख्न सक्नु हुन्छ । 

फरक फरक लिङ्कलाई एउटै लिङ्कन बनाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिला टीएनवाई डट डब्लुएस (tny.ws) मा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि ‘रजिस्टर’ (Register) को बटनमा ट्याप गरी आफ्नो विवरण राखेर दर्ता गर्नुहोस् । 

  • अनि, ‘इन्टर यूआरएल’ (Enter Url) भनिएको बक्समा यूआरएल पेस्ट गरेर इन्टर थिच्नुहोस् । 

  • यति गरेपछि तल सेभ टु जेनेरेट क्यूआर (Save to generate Smart QR) को बटनमा क्लिक गर्नुहोस् । 

  • र, लिङ्क कन्फिग्रेसन (Link Configuration) को छेउमा रहेको शो (Show) बटनमा ट्याप गर्नुहोस् ।

  • यति गरेपछि एप स्टोरको बक्समा एप स्टोरको लिङ्क राख्नुहोस् र प्ले स्टोरको बक्समा प्ले स्टोरमा रहेको एप लिङ्क राख्नुहोस् । 

  • र, अन्तिममा रहेको सेभ (Save) बटन ट्याप गर्नुहोस् । यति गरिसकेपछि क्यूआर कोड तयार हुन्छ । यो कोड विभिन्न काममा प्रयोग गर्न सकिन्छ । 


 

स्मार्ट क्यूआर

हुन त क्यूआर कोड बनाउन सघाउने थुप्रै प्लेटफर्म छन् । तर, टीएनआईमा भने क्यूआरकोडको लिङ्क अपडेट गर्ने सुविधा पनि दिइएको छ । “कुनै क्यूआरकोडमा भएको लिङ्कको म्याद गुज्रियो भने त्यो क्यूआर कोड कामै नलाग्ने हुन्छ,” टेकपानासँग कुरा गर्दै अर्यालले भने, “त्यस्तोमा पुरानै क्यूआरमा नयाँ लिङ्क अपडेट गर्नुपर्ने हुन्छ । त्यसका लागि हाम्रो प्लेटफर्म प्रयोग गर्न सकिन्छ ।”

तर यसका लागि भने प्रिमियम सब्सक्रिप्सन लिनुपर्ने हुन्छ । प्रिमियम सब्सक्रिप्सन लिंदा लिङ्क कस्टमाइज गर्ने सुविधा पनि हुन्छ । विशेषगरी आफूले छोटो यूआरएलमा के राख्न खोजेको हो, त्यही राख्न सकिने अर्यालले बताए । त्यसबाहेक प्रिमियम सब्सक्रिप्सन लिने प्रयोगकर्ताले विज्ञापन पनि हेरिरहनु पर्दैन । त्यसैगरी आवश्यक परेको खण्डमा प्रिमियम प्रयोगकर्ताले यसको एपीआई पनि लिन सक्छन् । प्रिमियम सब्सक्रिप्सन लिनका लागि [email protected] मा ईमेल पठाउनुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८१ १८:११