close

डिजाइन चोरीको आरोप लागेपछि दराजले हटायो आफ्नो पोस्ट

टेकपाना टेकपाना

जेठ २३, २०८१ १६:१९

डिजाइन चोरीको आरोप लागेपछि दराजले हटायो आफ्नो पोस्ट

 

काठमाडौं । आर्टवर्क चोरी गरेको आरोप लागेपछि अनलाइन शपिङ प्लेटफर्म दराजले पोस्ट हटाएको छ । युवा उद्यमी एवम् ग्राफिक्स डिजाइनर ईडा रिजालले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकबाट दराजले आफ्नो डिजाइन श्रेय नदिएर र अनुमति नलिएर प्रयोग गरेको आरोप लगाएकी थिइन् ।

आरोप लागेपछि दराजले सो पोस्ट बुधबार साइटबाट हटाएको हो ।

“केही दिनअघि दराजले मेरो पुरानो आर्टवर्क आफ्नो एउटा ब्लगमा प्रयोग गरेको देखेंको थिएँ,” टेकपानासँग कुरा गर्दै रिजालले भनिन्, “यसका लागि न उनीहरूले मसँग अनुमति लिए, न त्यसमा श्रेय नै दिएका थिएनन् ।”

रिजालले पोस्ट राखेपछि उक्त पाेस्टमा दराजकाे आधिकारिक फेसबुक पेजबाट कमेन्ट गर्दै अनुमतिबिना आर्टवर्क प्रयोग गरेकोमा माफी मागेका छन् ।

“यो कुरा हाम्रो ध्यानाकर्षण गराउनु भएकोमा धन्यवाद,” दराजले कमेन्टमार्फत भनेको छ, “उचित स्वीकृति बिना हाम्रो पोस्टमा तपाईंको कलाकृतिको प्रयोग हुँदा त्यसले तपाईंलाई पारेको असुविधाको लागि हामी क्षमा चाहन्छौं ।”

यसलाई गम्भीरताका साथ लिएको भन्दै कम्पनीले उक्त आर्टवर्क आफ्नो प्लेटफर्मबाट हटाएको उल्लेख गरेको छ ।

रिजालका अनुसार उनले तयार पारेको सफा टेम्पोको आर्टवर्क २१ अक्टोबर २०१९ मा बिहेन्स तथा पिनट्रेस्ट जस्ता प्लेटफर्ममा राखेकी थिइन् । दराजले १२ सेप्टेम्बर २०२१ मा सार्वजनिक गरेको ब्लगमा उक्त आर्टवर्क प्रयोग गरेको थियो । 

“उहाँहरूले मेसेज गरेर प्रयोग गरौं भनेको भए वा ब्यानरमै क्रेडिट दिएको भए हुने थियो,” उनले गुनासो गर्दै भनिन्, “यसरी डिजाइनरको आर्टवर्क राखिदिंदा त्यसले ठूला कम्पनीले आर्टवर्कको कपिराइटलाई गम्भीरतापूर्वक नलिएका हुन् कि भन्ने देखिन्छ ।”

ब्रान्डहरूले ग्राफिक्स डिजाइन सम्बन्धी उचित गाइडलाइन नबनाएकाले यस्तो समस्या आइरहेको उनको भनाइ छ । रिजालले अगाडि भनिन्, “उनीहरू (दराज) ले डिजाइन सम्बन्धी गाइडलाइन्स बनाउँदा कपिराइट आर्ट प्रयोग नगर्ने, प्रयोग गर्नै परे क्रेडिट दिनुपर्ने नीति राख्नुपर्ने हो । त्यसो नहुँदा डिजाइनरहरूले जुन डिजाइन भेट्यो त्यही राखिदिने प्रवृत्ति छ ।”

डिजाइनरले आफ्नो आर्टवर्कमा वाटरमार्क नराख्दा पनि प्रयोग गर्नेले केही ख्याल नै नगरी प्रयोग गर्ने गरेको उनको भनाइ छ । “आर्टवर्कको कपिराइटलाई लिएर स्पष्ट कानून नहुँदा पनि यस्ता समस्या आइरहेका हुनसक्छन्,” उनले भनिन्, “हामीले आफ्नो आर्टवर्क जहाँ राखेका हुन्छौं, त्यसमा स्पष्ट रूपमा करिपाइट आर्टिस्टसँग हुने उल्लेख हुन्छ । त्यसलाई ब्रान्ड र डिजाइनरले आफूखुसी प्रयोग गरिरहेका हुन्छन् ।”

पछिल्लो अध्यावधिक: जेठ २३, २०८१ १६:१९