काठमाडौं । एनसेलले तनहुँको दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टर उद्घाटन गरेको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले दमौलीको महर्षि चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थिम ‘हामी तपाईंकै लागि’ अनुरूप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकले सबै किसिमका ग्राहक सेवा लिनसक्ने कम्पनीले जनाएको छ । यसअन्तर्गत एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू सेन्टरबाट लिन सकिन्छ ।
यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा प्राप्त गर्न सक्छन् ।
सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले भने, “हामी विगत १० वर्षदेखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौं र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई हाम्रा ग्राहकहरूलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै कनेक्टिभिटीले ल्याउने अवसरहरूबाट फाइदा पुर्याउँदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो ।”
नयाँ सेन्टरले आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । देशका विभिन्न भागमा ३० ओटा भन्दा बढी एनसेल सेन्टरहरू सञ्चालन छन् ।