close

मर्मत गर्न दिएको मोबाइलमा रहेको फोटो दुरुपयोग गरी प्राविधिकले अश्लील भिडिओ बनाएपछि तनाव

टेकपाना टेकपाना

जेठ २९, २०८१ १६:३

मर्मत गर्न दिएको मोबाइलमा रहेको फोटो दुरुपयोग गरी प्राविधिकले अश्लील भिडिओ बनाएपछि तनाव

काठमाडौं । २३ जेठ २०८१ को दिनको कुरा हो । स्मार्टफोनको स्पिकरमा आवाज नआउने समस्या आएपछि संगीता क्षेत्री (नाम परिवर्तन) आफ्नो मोबाइल मर्मत गर्न धनगढीको एलएन चोक गइन् । त्यहाँ उनले उक्त फोन त्रिनगर माध्यामिक विद्यालयको कम्पलेक्समा रहेको आशिष् मोबाइल ग्यालरीमा दिइन् । पसल सञ्चालक ४१ वर्षीय शल्ताज आलमले फोनको रसिद काटिदिए र दुई तीन दिनमा फोन लिन आउनु भनेर पठाए । 

“रसिद पाएपछि उहाँ (मोबाइल धनी) घर फर्किनुभएछ,” टेकपानासँगको कुराकानीमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिस्टले भने, “मोबाइल मर्मत गर्न दिएपछि उहाँलाई दुई दिनमा फोन बन्छ भन्ने लाग्यो ।”

संगीताकी एक नाबालिग बहिनी छिन् । उनकै फोटो उक्त फोनमै थियो । प्रहरी उपरीक्षक बिस्टका अनुसार ग्यालरी सञ्चालकले पनि मोबाइल मर्मत गर्ने जिम्मा पसलमा काम गर्ने १४ वर्षीय किशोरलाई दिए । 

“किशोरले मोबाइल पाएपछि मर्मत गरेछ,” उनले अगाडि सुनाए, “संगीताकी बहिनीको फोटोलाई अश्लील भिडिओमा परिणत गरेको रहेछ । भिडिओ हेर्दा दुरुस्तै हो कि जस्तो देखिन्छ । तर, भिडिओ चाहिं नक्कली हो ।”

सो भिडिओ बनाइसकेपछि किशोरले एमडी धोनी नामक फेसबुक अकाउन्ट खोले । त्यो आईडीबाट उनले ती महिलाको फेसबुकमा रहेका व्यक्तिहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाए । त्यति बेलासम्म संगीतालाई यसबारे कही पनि थाहा थिएन । २५ जेठ २०८१ को दिन उनी मोबाइल लिन ग्यालरीमा गइन् । पसल सञ्चालकले भने अनुसारको रकम बुझाएर आफ्नो मोबाइल फिर्ता लिइन् । 

घर पुगेर फेसबुक खोल्दा उनको आईडीमा एमडी धोनीको नामबाट ‘हेलो दिदी’ भनेर मेसेज आयो । उनले त्यसलाई खासै वास्ता गरिनन् । मेसेज नफर्काएपछि त्यही साँझ साढे ८ बजेतिर सोही आईडीबाट संगीताकी बहिनीको अश्लील भिडिओ आयो । 

उनले बुझ्दै जाँदा उक्त आईडीबाट बहिनीको अश्लील भिडिओ अन्य आफन्तलाई पनि पठाएको थाहा पाइन् । त्यसअघि मोबाइल अन्य कसैलाई नदिएको र मोबाइल पसलबाट फोन ल्याउनासाथ त्यस्तो भिडिओ बाहिरिएपछि उनले पसलेमाथि शङ्का गरिन् । र, सोझै पसलमा पुगिन् । 

त्यहाँ पुग्दा सुरुमा पसल सञ्चालकले स्वीकारेनन् । तर, महिलाले विभिन्न आधार देखाएपछि उनीहरूले आफूबाट गल्ती भएको स्वीकार गरे । र, यो विषय सामसुम पार्ने प्रयासमा लागे । 

“पसलेले केटाले गल्ती गर्‍यो, माफ गरिदिनु भनेर हार गुहार गरेका रहेछन्,” विष्टले भने, “फोन पसल सञ्चालकको जिम्मामा दिएको हो । उनले किशोरको जिम्मामा पार्नु र किशोरले त्यही फोटो एडिट गरेर दुरुपयोग गरेको कुरा माफ गर्न नसकिने भन्दै महिला उजुरी दिन आउनुभयो ।” 

उजुरी आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ । “एक त १४ वर्षको किशोरलाई काममा राख्नु बाल श्रम शोषण हो । त्यसैमा ग्राहकको मोबाइलमा भएको सामान्य फोटोलाई एडिट गरेर अश्लील भिडिओ बनाउनु अर्को अपराध हो,” उनले थपे । 

प्रारम्भिक अनुसन्धानका क्रममा फोन जाँच गर्दा किशोरले ती महिलाको फोनमा विभिन्न अश्लील साइटहरू सर्च गरेर हेरेको समेत देखिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनामाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको कैलाली प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १६:३