close

आईफोनमा अब निःशुल्क कल रेकर्डिङ सुविधा, फोनमा बोलेका कुरा एआईले स्वतः टेक्स्टमा उतारिदिने

टेकपाना टेकपाना

जेठ २९, २०८१ १८:६

आईफोनमा अब निःशुल्क कल रेकर्डिङ सुविधा, फोनमा बोलेका कुरा एआईले स्वतः टेक्स्टमा उतारिदिने

काठमाडौं । एन्ड्रोइडमा मात्र उपलब्ध कल रेकर्डिङ फिचर अब आईफोनमा पनि आउने भएको छ । अमेरिकामा जारी वर्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ मा एप्पलले आईफोनमा कल रेकर्डिङको फिचर उपलब्ध हुने बताएको हो ।

यो फिचर आईओएस १८ अपडेटसँगै आईफोनमा उपलब्ध हुनेछ । एप्पलका अनुसार कलमा कुराकानी गरिरहेका दुवै व्यक्तिलाई स्वतः रेकर्डिङ भइरहेको जानकारी प्राप्त हुनेछ । 

एप्पलले सार्वजनिक गरेको तस्वीरमा रेकर्डिङका लागि फोन एपमा नयाँ बटन देख्न सकिन्छ । यसका साथै लामो साउन्ड वेभ पनि देख्न सकिन्छ । जहाँबाट रेकर्डिङ भएको समय हेर्न सकिन्छ । जब कुराकानी सकिन्छ, तब स्वत: उक्त कुराकानी ट्रान्सक्राइब हुन्छ । त्यसरी ट्रान्सक्राइब भएको कुराकानी नोट्स एपमा भेट्न सकिने एप्पलले जनाएको छ । 

यसका साथै सो कुराकानीलाई कम्पनीको नयाँ एआई फिचरको सहायताबाट सारांश गर्न सकिने एप्पलले उल्लेख गरेकाे छ । यसका साथै नोट्स एपमार्फत तपाईंले अन्य सामान्य अडियोको ट्रान्सक्राइब पनि गर्न सक्नुहुन्छ । यद्यपि अडिओ ट्रान्सक्रिप्सन अंग्रेजी, स्पेनिस, जर्मन, फ्रेन्च, जापानी, चिनियाँ (मन्डारिन र क्यान्टोनिज) र पोर्चुगिज भाषामा मात्र उपलब्ध हुनेछ ।

हाललाई आईओएस १८ बेटा भर्सनमा याे फिचर उपलब्ध भइसकेकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८१ १८:१४