जासुसीको आशङ्कामा टीपी-लिंकका वाई-फाई राउटरमाथि पूर्ण प्रतिबन्धको तयारी गर्दै अमेरिका
कात्तिक १५, २०८२ ८:५२
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले सबैभन्दा लोकप्रिय राउटर ब्रान्ड ्मध्ये एक टीपी-लिंकका राउटरहरूमाथि प्रतिबन्ध लगाउने तयारी थालेको छ । वाशिङ्टन पोस्टको रिपोर्टका अनुसार आधा दर्जनभन्दा बढी सङ्घीय विभाग तथा एजेन्सीहरूले यो प्रस्तावलाई समर्थन गरेका हुन् ।
साइबर सुरक्षा विशेषज्ञहरूले सबै राउटरहरूमा निगरानी र डेटा सङ्कलनको जोखिम निहित हुने बताएका छन् । यो समाचार पहिलो पटक गत वर्षको डिसेम्बरमा आएको थियो । त्यतिखेर वाणिज्य, रक्षा र न्याय विभागका अनुसन्धानकर्ताहरूले कम्पनीको चीनसँगको सम्बन्धबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमहरूको कारण टीपी-लिंक माथि जाँच सुरु गरेको रिपोर्ट द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो ।
अहिले यो प्रतिबन्धको प्रस्तावले अन्तर-एजेन्सी अनुमोदन प्राप्त गरिसकेको बताइएको छ । वाणिज्य अधिकारीहरूले टीपी-लिंक सिस्टम्सका उत्पादनहरूले जोखिम निम्त्याउने निष्कर्ष निकालेका छन् ।
टीपी लिंकका अमेरिकामा आधारित उत्पादनले संवेदनशील अमेरिकी डेटा ह्यान्डल गर्ने र कम्पनी चिनियाँ सरकारको क्षेत्राधिकार वा प्रभावको अधीनमा रहने उनीहरूको बुझाई छ ।
अक्टोबर २०२४ मा कानुन निर्माताहरूले टीपी-लिंक राउटरहरूका असामान्य कमजोरीहरू र चिनियाँ सरकारले अमेरिकामा ठुलो मात्रामा साइबर हमलाहरू गर्न टीपी-लिंक जस्ता होम अफिस राउटरहरूको प्रयोग गर्ने गरेको आरोप लगाउँदै गम्भीर चिन्ताको विषय भएको बताएका थिए ।
तर टीपी-लिंकले चिनियाँ सरकारसँगको सम्बन्धका आरोपहरूको कडा रूपमा खण्डन गरेको छ । टीपी-लिंकका एक प्रवक्ताले बताएका छन्, "एक स्वतन्त्र अमेरिकी कम्पनीको रूपमा हाम्रो उत्पादनको डिजाइन र उत्पादनमा चीन लगायत कुनै पनि विदेशी देश वा सरकारको पहुँच वा नियन्त्रण छैन ।"
यो कम्पनी सन् १९९६ मा चीनको सेन्जेनमा दुई जना दाजुभाइले स्थापना गरेका थिए । वाशिङ्टन पोस्टको रिपोर्टअनुसार टीपी-लिंक सिस्टम्सको मुख्यालय क्यालिफोर्नियाको इरभिनमा छ र यसका लगभग ५०० कर्मचारी अमेरिकामा र ११ हजार चीनमा कार्यरत छन् ।
न्याय विभागको एन्टिट्रस्ट डिभिजनले पनि टीपी-लिंकले प्रतिस्पर्धीहरूलाई हटाउनका लागि कृत्रिम रूपमा मूल्य घटाएर प्रिडेटरी मूल्य निर्धारण रणनीति (बलियो कम्पनीले साना प्रतिस्पर्धीलाई बजारबाट हटाउने उद्देश्यले जानाजान अत्यन्तै सस्तो मूल्यमा वस्तु वा सेवा विक्री गर्ने रणनीति) मा संलग्न भएको छ वा छैन भनी अनुसन्धान गरिरहेको छ ।
टीपी-लिंकका प्रवक्ताले यस आरोपलाई अस्वीकार गर्दै भनेका छन्, "हाम्रो मूल्य निर्धारण लागतभन्दा माथि मात्र नभई यसले व्यवसायलाई स्वस्थ नाफा पनि दिइरहेको छ ।"
यो सम्भावित प्रतिबन्ध हाल वाणिज्य विभागको हातमा छ । यद्यपि ट्रम्प प्रशासनको चीनसँग जारी वार्ताले निकट भविष्यमा प्रतिबन्ध लाग्ने सम्भावना कम गरेको छ ।
साइबर सुरक्षा विशेषज्ञ इटाई कोहेनले पहिलेको अन्तर्वार्तामा भनेअनुसार टीपी-लिंक राउटरहरूमा फेला परेका फर्मवेयर इम्प्लान्ट जस्तै अन्य देशहरूमा निर्मित राउटर ब्रान्डहरूमा पनि भेटिएका छन् । कोहेन भन्छन्, "चीनका राउटरहरूलाई सम्पूर्ण रूपमा त्याग्नुपर्छ भन्ने पर्याप्त प्रमाण छ भन्ने मलाई लाग्दैन ।"
राउटरहरूसँग सम्बन्धित जोखिमहरू ठुलो मात्रामा प्रणालीगत रहेको तथा अमेरिकामा निर्मित सहित विभिन्न ब्रान्डहरूमा लागु हुने उनको उनको भनाई छ । नेटराइजका सीईओ थोमस पेसले पनि भनेका छन्, "हामीले टीपी-लिंकको फर्मवेयरको आश्चर्यजनक मात्राको विश्लेषण गरेका छौँ । हामी त्रुटिहरू भेट्टाउँछौं, तर हामी सबै कुरामा त्रुटिहरू भेट्टाउँछौँ ।"
यद्यपि सरकारलाई सार्वजनिक रूपमा थाहा नभएका कमजोरीहरू बारे जानकारी हुन सक्ने सम्भावना पनि छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८२ ८:५२
