close

शर्टको टाँकमा गोप्य क्यामेरा राखेर एआईको सहायताले परीक्षामा चिट चोरेपछि‍‍‍...

टेकपाना टेकपाना

जेठ ३०, २०८१ १३:३१

शर्टको टाँकमा गोप्य क्यामेरा राखेर एआईको सहायताले परीक्षामा चिट चोरेपछि‍‍‍...

काठमाडौं । टर्कीका एक विद्यार्थीले विश्वविद्यालय अध्ययन गर्नका लागि दिनुपर्ने प्रवेश परीक्षामा चिट चोर्न गोप्य क्यामेरा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेको घटना बाहिर आएको छ । विश्वविद्यालयले लिएकाे परीक्षामा शंकास्पद व्यवहार देखाएपछि ती विद्यार्थीमाथि खानतलासी गरिएको थियो । 

त्यसका क्रममा उनले शर्टको टाँकमा क्यामेरा राखेको भेटिएको थियो । यसपछि प्रहरीले ८ जुनमा चिट चाेर्ने विद्यार्थीलाई पक्राउ गरेको रोयटर्सले जनाएको छ । समाचार अनुसार उनलाई​ चिट चाेर्न सघाउने अर्का एक व्यक्ति पनि प्रहरी नियन्त्रणमा छन् । 

पक्राउ परेका विद्यार्थीले जाँचमा कसरी चिट चोर्थे भन्ने भिडिओ टर्कीको स्थानीय प्रहरीले सार्वजनिक गरेको छ ।

“हामीले जाँच दिने ती विद्यार्थीको व्यवहार शंकास्पद रहेको पायौं,” सार्वजनिक भिडिओमा प्रहरीले भनेकाे छ, “जुत्ताको सोलभित्र एउटा डिभाइस लुकाइएको पाइयो । ती व्यक्तिको साथबाट लिइएको उक्त डिभाइसलाई राउटर भनिने रहेछ ।”

प्रहरीका अनुसार उक्त राउटरले इन्टरनेट कनेक्सनको काम गर्छ । र, इन्टरनेट कनेक्सन पाएपछि आर्टिफिसियल इन्टेलिजेन्सले प्रश्नको उत्तर पठाउँछ । आर्टिफिसियल इन्टेलिजेन्सबाट जवाफ पाउन उनले कानमा इयरफोन पनि लगाएका थिए ।

सबैभन्दा महत्त्वपूर्ण कुरा शर्टको टाँकमा राखिएको उक्त क्यामेराले पेपरमा भएको प्रश्न स्क्यान गर्थ्यो र त्यो स्क्यान पेपर राउटरको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुग्थ्यो । त्यसपछि प्रश्नको उत्तर इयरफोनमा आउँथ्यो । र, ती विद्यार्थी सही उत्तर छान्थे । प्रहरी अधिकारीले भिडिओमा उक्त प्रणालीले चिट चोर्न कसरी सघाउँछ भन्ने कुराको डेमो भिडिओमा देखाएका छन् ।

यसका लागि कुन एआई प्रयोग गरिएको थियो, भित्र सिस्टम कसरी निर्माण गरिएको थियो, अनि अरू कुन डिभाइस प्रयोग भएको थियो भन्नेबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८१ १३:४२